काठमाडौं, पुस २ । काठमाडौं उपत्यकामा सञ्चालित सवारीसाधनमध्ये ८५ प्रतिशतले वातावरणीय प्रदूषण मापदण्ड पूरा गरेका छैनन् । हरियो स्टिकर टाँस्ने तर चेकजाँच गर्दा मापदण्ड पूरा नहुने अवस्था देखिएपछि वातावरण विभागले नियमित अनुगमनलाई तीव्रता दिएको छ । अनुगमन शुक्रबारदेखि सुरु गरिएको छ ।
वातावरणीय मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई एक लाख रुर्पैयाँसम्म जरिवाना लाग्ने कानुनी व्यवस्था छ । विभागका महानिर्देशक नमराज घिमिरेले भने, “प्रदूषण परीक्षणमा ८५ प्रतिशतले पास गर्न सकेका छैनन्, हामी स्टिकर हेर्दैनौँ, गाडीको धुवाँ नै परीक्षण गर्छौं, कडाइका साथ जान्छौँ, कारबाही गर्छौं ।” गाडीको धुवाँले वातावरणलाई निकै प्रदूषण मात्र गरेको छैन, नियम, कानुन पनि उल्लङ्घन भएको उनको भनाइ छ ।
विभागले गत मङ्सिर २२ गते सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ भएको दाबी गरेको थियो । प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह पनि गरेको थियो । काठमाडौँ उपत्यकामा चलेका सवारीसाधनबाट निस्कने धुवाँ मापदण्डभन्दा बाहिर देखिएको छ ।
महानिर्देशक घिमिरेका अनुसार धुवाँ परीक्षण गर्दा मापदण्डभन्दा धेरै प्रदूषण गराइरहेका गाडीलाई एक पटकका लागि मर्मत गरी अवस्था दुरुस्त राख्न निर्देशन दिइनेछ । परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने गाडीलाई एक लाख रुपियाँसम्म जरिवाना गर्ने विभागले जनाएको छ । वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१ उपदफा (२) अनुसार जरिवाना हुनेछ । विभागले टोलछिमेकमा खुला रूपमा फोहोर नजलाउन पनि आग्रह गरेको छ । गोरखापत्र दैनिकबाट