Logo

जबराले शपथ ग्रहण गराउन सक्ने



काठमाडौं, पुस ५ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभा सदस्यहरूलाई शपथ गराउने ज्येष्ठ सदस्यको अझै निक्र्योल गरिसकेको छैन। निर्वाचन आयोगले पठाएको विवरण र नागरिकतामा सम्भावित ज्येष्ठ सदस्यको उमेर फरक परेपछि सचिवालयले नागरिकता रुजु गर्ने कार्य गरिरहेको छ।

सङ्घीय संसद्का प्रवक्ता डा रोजनाथ पाण्डेले ज्येष्ठको पहिचान गर्ने कार्य भइरहेको बताए । पाण्डेले भने, “सम्भावित तीन सदस्यको नागरिकता हामी रुजु गरिरहेका छौँ। आज मङ्गलबार बेलुका चार बजेसम्म टुङ्गो लाग्छ।”

नागरिकताका आधारमा सबैभन्दा ज्येष्ठ सदस्य नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित महिन्द्रराय यादव रहेका छन् । तर यादवले यसअघि पनि नागरिकता र आफ्नो वास्तविक उमेर फरक रहेको भन्दै शपथ गराउन अस्वीकार गरेका थिए। यादवको उमेर नागरिकतामा १९९४ वैशाख २४ गते रहेको छ तर यादवले आफ्नो जन्ममिति २०११ असार १५ भएको विवरण संसद्मा उपलब्ध गराउँदै आएका छन् ।

सचिवालयका अनुसार यस पटक राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपतिशमशेर जबरा र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीमध्ये एकले शपथ गराउनेछन्। निर्वाचन आयोगले संसद्लाई पठाएको विवरणमा केसीको जन्ममिति १९९८ माघ २० गते रहेको छ भने जबराको जन्ममिति १९९९ वैशाख २५ रहेको छ तर जबराको जन्ममिति नागरिकताको प्रतिलिपिमा फरक देखिएपछि सचिवालयले रुजु गरिरहेको छ।

सचिवालयले प्राप्त गरेको नागरिकतामा जबराको जन्ममिति १९९८ वैशाख २५ रहेको छ। सक्कल नागरिकता भिडाएपछि ज्येष्ठ सदस्यको टुङ्गो लगाउने तयारी सचिवालयको छ।



प्रतिक्रिया दिनुहोस्