Logo

लैनचौरमा शेखर र गगनमध्ये एकजनालाई उभ्याउने गरी छलफल, ११ बजे पुनः सामूहिक बैठक बस्दै



काठमाडौं, पुस ५ । नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ताको समय तोकेको छ । आजै दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने गरी समय तोकिएपछि संसदीय दलको नेता बन्न संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा र इतर समूहमा शेखर कोइराला र गगन थापाले दाबी गर्दै आएका छन् । दिउँसो २ बजेदेखि सुरू हुने मनोनयनको समयअघि नै शीर्ष नेतृत्वबीच सहमतिको प्रयास जारी छ ।

संस्थापन पक्ष सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई नै उम्मेदवार सर्वसम्मत रहेपनि इतर समूहमा शेखर कोइराला र गगन थापा मध्ये एकजनालाई उभ्याउने गरी छलफल भइरहेको छ ।

इतर समुहबाट गगन र शेखर मध्ये एकजनालाई उभ्याउन सोमबार अपराह्न छलफल भएपनि सहमती हुन नसकेपछि आज विहान लैनचौरस्थित होटल एम्बास्डरमा पुनः छलफल भएको छ। संस्थापन इतर समूहको बैठक बस्नुअघि शेखर कोइराला र गगन थापाबीच भेटघाट भएको छ ।

लैनचौर बैठकमा धनराज गुरुङ, चन्द्र भण्डारी, अर्जुन नरसिंह केसी, मिनेन्द्र रिजाल, बलबहादुर केसी र दिलेन्द्र बडू लगायतका नेता सहभागी छन् ।

इतर पक्षले थापा र कोइरालालाई मिलेर अगाडि बढ्न दबाब दिने उद्देश्यले अहिले विहान ११ बजे आफू पक्षीय सांसद र केन्द्रीय सदस्यको बैठक बोलाएको छ । संसदीय दलको नेताका मतदान भने भोली बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ ।



प्रतिक्रिया दिनुहोस्