Logo

तालिबान सरकारले महिलालाई विश्वविद्यालय जान प्रतिबन्ध गरेकामा दुःख व्यक्त



संयुक्त राष्ट्रसङ्घ, ६ पुस । तालिबान सरकारले यहाँका महिला तथा किशोरीहरुलाई विद्यालय विश्वविद्यालय जान प्रतिबन्ध गरेको घटनाले आफू स्तब्ध भएको संयुक्त राष्ट्रसङ्घीय एक अधिकारीले बताएका छन् ।
अफगानिस्तानका लागि एक संयुक्त राष्ट्रसंघीय उच्च अधिकारीले सो कुरा बताएको हो ।उनले भनेका छन्– अफगानिस्तानको तालिबान सरकारको यो निर्णयले मलाई दुःख लागेको छ, म स्तब्ध भएको छु । आज सो समाचार देशव्यापी रुपमा प्रचारमा ल्याइएको छ । तालिबानहरुले अफगानिस्तानका किशोरी तथा महिलालाई विश्वविद्यालय जानबाट रोकेको घटनाको म विरोध गर्दछु ।
अफगानिस्तानमा लागी संयुक्त राष्ट्रसङ्घीय विशेष प्रतिनिधि रोजा ओटुन्बोयाले एक विज्ञप्तिमा सो कुरा बताएका छन् ।उनले यस्तो निर्णय अफगानिस्तानका उच्च शिक्षासम्बन्धी मन्त्रीले हालै गरेको भनी गरिएको प्रचारले अफगानिस्तानका सबै महिला बेखुस भएका पनि बताएका छन् ।

उनले यस्तो निर्णय अफगानिस्तान देशको हितमा पनि नभएको र अहिलेको युगमा पनि महिलाले विश्वविद्यालय गएर अध्ययन गर्न नपाउनु भनेको निकै नै दुःखद भएको धारणा राखेका छन् ।
दुई वर्षअघि अफगानिस्तानमा तालिबानको शासन सुरु भएपछि यहाँका महिलाको अधिकार खोसिएको छ । उनीहरुलाई धेरै सार्वजनिक स्थल र कार्यमा प्रतिबन्ध लगाएको छ र अहिले पछिल्लो समयमा आएर उनीहरु विश्वविद्यालय पनि जान नपाउने गरी प्रतिबन्ध लगाइएको बताइएको छ ।

तालिबानहरुले यहाँका महिला अधिकारको हनन् गरिरहेकाले संयुक्त राष्ट्रसङ्घीय सभा तथा बैठकहरुमा यस्ता विषयमा कुरा उठ्ने गरेको पनि उनले बताएका छन् ।यस निर्णयका बारेमा संयुक्त राष्ट्रसङ्घले थप स्पष्ट जानकारीको खोजी गरिरहेको भन्दै आगामी दिनमा यस्ता निर्णयहरु फिर्ता लिनका लागि आफूले पहल गर्न पनि उनले बताएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot