Logo

सराङकोट किल्लामा अवस्थित प्राचिन भूमिकाली शक्तिपिठ



काठमाडौं ८ पुष । । धेरै वर्ष अघि सराङकोट राज्यमा गलकोटे राजाका सन्तानले शासन गरेको कुरा विभिन्न तथ्यहरुले पुष्टि गर्छन् । सराङकोटबाट फेवाताल तथा पोखरा उपत्यकाको दृश्य हेर्दा जो कसैको मन अघाउँदैन, हेरिरहु जस्तो लाग्छ ।

सराङकोटमा मगरा नामक गाउँ छ । जसको तात्पर्य प्राचिन पानीको धारो भन्ने अर्थ लाग्दछ । सराङकोट ऐतिहासिक स्थल हो । जहाँ भैरव थान र पौवागुठी प्राचीनकालदेखि रहेका छन् । हाल त्यो ठाउँ पर्यटकीय महत्वको बनेको छ ।

सराङकोटमा २००७ सालभन्दा पहिले ८ फुट अग्लो २०० मिटर गोलो ३ हात चौडा पर्खालको घेरा थियो । त्यसभित्र २–४ फुटसम्म जमिन बाहिर देखिने गरी मोटा र टुप्पेका ढुंगा गाडिएका ५०–६० थान पुराना खुकुरी,तरबार र त्रिसुलहरु थिए । इशान्यकोणमा मोटा सालका मौला र घण्टहरु पनि झुण्डाइएका थिए, ज्यादै पुराना हुँदा कालान्तरमा नीला खिइदै गए । त्यहाँबाट हतियार र घण्ट पनि चोरिन थाले ।

दक्षिणबाट भित्र पस्न सकिने सराङकोट कुनै समयमा विशाल दुर्ग थियो । त्यो ढुंगे किल्लाको ढोका अगाडी मोटो मौलो थियो जहाँ धजा टाँगिन्थे । त्यो मौलामा भाकल पूजा गर्नेले बलि चढाउँथे । आजकाल युरोपिय पर्यटकले त्यहाँका अवशेषहरु एक–एक गरी चोरेको बताइन्छ । पर्यटकिय क्षेत्रले पर्यटकहरुबाट लाभको आशा गर्दा हानी पनि वेर्होर्ने पर्यो ।

सराङकोटमा भित्रपट्टि ५ फुट गहिरो ३ फिट गोलो खाल्डो खोपी थियो । जहाँ भुमेदेवताको पूजा हुन्थ्यो । खोपाको माथिल्लो पाटामा यज्ञ गर्ने मण्डल बनाइएको हुन्थ्यो । यज्ञ कुण्डको माथि पर्खालमा चारकुने खोपी थियो । त्यहाँ प्रत्येक वडादशैं घटस्थापनाका दिन घडा थापी नौ दिनसम्म पूजापाठ गरिन्थ्यो । कास्कीकोटमा झै सराङकोटमा पनि दैनिक, वेद,चण्डी, रुद्रीपाठ, भूमिकालिका सप्तधान्य,महाकाली महालक्ष्मी, महासरस्वती स्थापना गरी कलश र जमरा राखी भैरव,चण्डी,देउराली, झाक्री स्थानीय देवताहरुको नवरथाभर पूजा गरिन्थ्यो । सप्तमीमा फूलपाती श्री ५ मा पुर्याउने तारतम्य गरी भक्त र दर्शकलाई प्रसाद बाडिन्थ्यो । त्यो बेला चारैदिशा कर्नाल बजाएर सूचना दिइन्थ्यो । विजया दशमीमा पनि कर्नाल बजाई टिको थाप्ने संकेत सबै बासिन्दालाई दिइन्थ्यो । आजकाल त्यस्तो परम्परा कास्की जिल्लामा मात्र रहेको छ ।

सराङकोटमा अनिकाल, खडेरी, बाडी, पशुरोग, सलहको प्रकोप भए शिवगौरी, विष्णुलक्ष्मी, इन्द्रायणीको ज्योतिषविद्यानुसार कार्यकाल परीक्षण गरी कोटमा पूजागरी हातमा जलपात्र लिई आफै माथि खन्याई “हरहर महादेउ पानी देउ, यत्तिले पुगेन थपि देउ, खरानीको डल्ला कति सारो महादेउलाई पानी दिन कति गाह्रो, बालिनालि हराए, पशुहरु कराए, मान्छेजति डराए, हरहर महादेउ पानी देउ” भनी गाउँ टोल घुमी नारा लगाउँथे ।

गाउँलेले पानी धारा खन्याई स्वागत गर्दथे । त्यति गरेपछि पानी वर्षन्थ्यो सराङकोटबाट सुरु भएको घोष त्यही विर्सजन गरिन्थ्यो, त्यही परम्परा थियो । सराङकोटमा शरदमा खामोजत्रो लिङ्गो गाड्ने र गृष्मऋतुमा फ्याक्ने परम्परा थियो । २००७ मा त्यहाँका मुल्यवान् वस्तुहरु चोरी भए र जे लैजान मिलेन ती मात्र रहे । अरु त के पर्खालका छपनी र चप्लेटा ढुंगा पनि रहेनन् । किल्ला पनि विरुप भयो र बयान गर्दा नपत्याउँदो हुन थाल्यो ।

राङकोट जत्तिको रमणीय ठाउँ कास्कीमा अर्को छैन् । कास्कीका ठाउँहरुमध्ये भदौरी देउराली र सराङकोटमा बढी हावा चल्छ । त्यो हावाको उपयोग शीतल लिनु मात्रै भएको छ, त्यो अथाह शक्ति उर्जा उत्पादनमा लगाउन पाए राम्रो हुन्थ्यो । सराङकोटबाट अघौं सातमुहाने,खैरनीटार, देवचुली,वर्चुली,माछापुच्छ«े, धवलागिरी, अन्नपुर्ण,गणेश हिमाल, गोरुजुरे, पञ्चासे, दुर्लुङ, स्वर्गद्धारी र पाल्पासम्म पनि देखिन्छ । पोखरा शहर जति बढ्छ त्यति सराङकोटको लौकिक महत्व बढ्दै जाँदो छ । २०१५ सालमा सराङकोट जाँदा बाटामा पौवा हाल्ने काम त्यहाँका बासिन्दाले गरेका थिए तर अहिले त्यो पनि भत्केको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्