Logo

एकले अर्काको धार्मिक तथा सांस्कृतिक पहिचानलाई स्वीकार र सम्मान गर्दा राष्ट्रिय एकता थप सुदृढ्



काठमाडौं, पुस १० । प्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीहरूको सौहार्दता तथा खुसीयालीको पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

उनले शुभकामना सन्देशमार्फत चाडपर्वलाई आफ्नो संस्कार र संस्कृतिको अभिव्यक्तिका रूपमा उत्साहपूर्वक मनाउँदा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूका बीच आपसी भाइचारा, सौहार्दता र राष्ट्रिय एकताको अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

विभिन्न धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता, भातृत्व र सहिष्णुता कायम गर्दै आएका छन् । हामी एकले अर्काको धार्मिक तथा सांस्कृतिक पहिचानलाई स्वीकार र सम्मान गर्न सक्नुपर्दछ । यसो गर्दा मात्र हाम्रो राष्ट्रिय एकता अझै सुदृढ् हुने जारी संदेशमा उल्लेख छ ।

प्रधानमन्त्री देउवाले संसारभर नै मानव समुदायले आफ्ना देवता र धर्म प्रवर्तकजस्ता महान् व्यक्तित्वहरूको जन्मदिनलाई व्यापक उत्साह र सद्भावका साथ मनाउने उल्लेख गर्दै डिसेम्बर २५ का दिन इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट अर्थात् प्रभु येशुको जन्मदिनलाई क्रिसमसका रूपमा विविध कार्यक्रमका साथ मनाउने प्रचलन रहेको जनाएका छन् ।

उनले यस पर्वले सबै नेपालीहरूबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समृद्ध नेपाल निर्माणका लागि सबैमा प्रेरणा प्रदान गरोस् कामना गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot