Logo

देउवासँग वारपार गर्न प्रचण्ड बालुवाटारमा, सहमति नभए उतैबाट बालकोट हानिने तयारी



काठमाडौं, १० पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्णायक छलफलको लागि बालुवाटार पुगेका छन् । सत्ता गठबन्धनमा सरकारको नेतृत्व पहिलो चरणमा कसले गर्ने भन्नेबारे कांग्रेस र माओवादी केन्द्रबीच सहमति हुन सकेको छैन् । कांग्रेसबाट शेरबहादुर देउवा र माओवादी केन्द्रबाट प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरेका छन् ।

दुवै नेता आ आफ्नो अडानबाट टसमस नुहँदा सहमतिको गाँठो फुक्न सकेको छैन् । यही विवादका कारण गठबन्धन पनि नरहने चर्चा चुलिएको छ । प्रचण्ड देउवासँगको निर्णायक वार्ताको लागि भर्खरै बालुवाटार प्रवेश गरेका छन् । अहिले दुई नेताबीच वान टु वान भेटवार्ता सुरु भएको छ । यसअघि दुवै नेताले आफ्ना पार्टीका कोर टिमसँग छलफल गरेका थिए ।

दुवै नेतालाई आफ्ना पार्टीका नेताहरुले प्रधानमन्त्रीमा दाबी नछाड्न सुझाव दिएको समाचार बाहिरिएको छ । प्रचण्डले आफूले पहिलो चरणको प्रधानमन्त्री नपाए गठबन्धन छोड्ने निर्णय गरेर बालुवाटारबाट बाहिरिने तयारी गरेका छन् । उनले आजै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने तयारी गरेका छन् । त्यसको लागि माओवादी केन्द्रकै नेता वर्षमान पुन सक्रिय छन् ।

उनी यो गठबन्धनबाट पार्टीलाई बाहिर निकाल्न चाहन्छन् । एमालेले पनि नयाँ सरकार गठनको लागि माओवादीलाई नेतृत्व दिन सकिने संकेत गरेको छ । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले समयमै निर्णय नगरेको कारण अब प्रधानमन्त्री बन्ने सम्भावना समाप्त भएको टिप्पणी गरेका थिए । राष्टपतिले नयाँ सरकार गठनको लागि दिएको समय आज साँझ समाप्त हुँदैछ । त्यो भन्दा अघि दलहरु निर्णायक छलफल र भेटवार्तामा जुटेका छन् ।



प्रतिक्रिया दिनुहोस्