Logo

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक, दलको नेतामा रञ्जिता श्रेष्ठ चौधरी (निर्णयसहित)



काठमाडौं, १० पुष । नागरिक उन्मुक्ति पार्टीले दलको नेतामा अध्यक्ष रञ्ज्तिा श्रेष्ठ चौधरीलाई चयन गरेको छ । उक्त दलको काठमाडौंमा यही पुष ८ र ९ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै, दलको प्रमुख सचेतकमा गंगाराम चौधरी र सचेतकमा अरुण कुमार चौधरीलाई चयन गरेको हो । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमार्फत केन्द्रीय समितिका निर्णय सार्वजनिक गरिएको हो ।

सुदूरपश्चिम प्रदेशसभामा संसदीय दलको नेतामा रामेश्वर चौधरीलाई छनोट गरेको प्रतिनिधिसभा सदस्य एवं पार्टीका केन्द्रीय सदस्य गंगाराम चौधरीले जानकारी दिए । यस्तै, प्रमुख सचेतकमा लक्ष्मण किशोर चौधरी र सचेतकमा घनश्याम चौधरीलाई चयन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, लुम्बिनी प्रदेशसभामा दलको नेतामा धर्मबहादुर चौधरी, प्रमुख सचेतक राजकुमार चौधरी र सचेतकमा नरमाया ढकाललाई छनोट गरेको छ भने मधेस प्रदेशसभामा उर्मिला सिंहलाई संसदीय दलको नेतामा छनोट गरेको छ । उक्त दलले आगामी २०८० साल बैशाख ४ गतेदेखि ६ गतेसम्म कैलालीको टिकापुरमा महाधिवेशन गर्ने निर्णय गरेको छ।

पत्रकार सम्मेलनमा दलकी नेता रञ्जिता श्रेष्ठ चौधरीले आफू आफ्नो क्षेत्रका जनताका दरिलो आवाज बनेर उभिने विश्वास दिलाईन् । उनले आफ्नो दलले अघि सारेका माग र मुद्दा सम्बोधन गराउन निरन्तर लागिरहने स्पष्ट पारिन् । उनले आफ्नो दलका जननी रेशम चौधरीलगायत राजबन्दीहरुको रिहाईको माग गरिन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot