Logo

बुटवलका डिएसपी ठगबहादुर ३५ तोला सुन र २५ लाख नगदसहित सिआईबीको नियन्त्रणमा



काठमाडौं, पुस ११ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी प्रधान कार्यालय काठमाडौंबाट खटिएको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) को टोलीले केसीलाई आइतबार साँझ निवासबाटै नियन्त्रणमा लिएको हो।

सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न खटिएको टोलीले केसीको निवासमा खानतलासी गर्दा ३५ तोला सुन र २५ लाख लाखौं नगद फेला पारेको छ ।

केसीमाथी गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको आरोप थियो । केसीले सुन नियन्त्रणमा लिई व्यापारीसँग थप २५ लाख रुपैयाँ मागेको आरोपपछि प्रधान कार्यालयले अनुसन्धानमा टोली परिचालन गरेको थियो ।

मंसिर ४ गते बुटवलबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई कास्की जाने तयारीमा थिए ।

केहिसमय पहिले तिलोत्तमाका वडाअध्यक्षलाई स्विमिङ पुलमा धकेलेको भिडियो सामाजिक सञ्जालमा भाईरल भएपछि केसी विवादमा तानिएका थिए ।

गत साउन १ गते तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत बीच नगरसभाको विषयमा विवाद भएपछि उत्पन्न परिस्थितिलाई साम्य पार्न गएका केसीले जनप्रतिनिधिलाई हातपात र दुर्व्यवहार गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्