Logo

अमेरिकामा हिमआँधी, ३४ जनाको मृत्यु



काठमाडौं, पुस १२ ।  संयुक्त राज्य अमेरिकामा हिमआँधीमा परेर कम्तीमा ३४ जनाको मृत्यु भएको छ । हिमआँधीका कारण ओक्लाहोमा, केन्टकी, मिजौरी, टेनेसी, विस्कन्सिन, कान्सास, नेब्रास्का, ओहायो, न्यूयोर्क, कोलोराडो र मिशिगन राज्यमा ३४ जनाको मृत्यु भएको हो ।

देशका अन्य राज्य पनि आँधीबाट प्रभावित भएका छन् । पश्चिमी न्युयोर्कका सडक हिउँले पुरिएका छन् भने आपत्कालीन सवारी साधन सञ्चालन गर्न कठिन भएको छ । अति चिसोका कारण सर्वसाधारण घरबाट बाहिर निस्कन नसक्ने अवस्थामा छन् । दशौँ हजार घर बिजुलीविहीन बनेका छन् । बिजुली नभएपछि कठ्याङ्ग्रिएर ज्यान गुमाउनेको सङ्ख्या बढ्नसक्ने अधिकारीहरूले बताएका छन् ।

न्युयोर्कका गर्भनर क्याथी होचुलले सवारी साधन नचलाउन सर्वसाधारणलाई आग्रह गर्दै सवारी साधन सञ्चालनमाथिको प्रतिबन्ध मङ्गलबार बिहानसम्म जारी रहने बताएकी छन् । बफेलोको नियाग्रा अन्तर्राष्ट्रिय विमानस्थलमा ४३ इन्च हिउँ जमेको छ । मोटरकारहरू हिउँले पुरिएका छन् ।

राष्ट्रिय मौसम विज्ञान विभागका अधिकारीहरूले सोमबार बिहानसम्म व्यापक हिमपात हुने चेतावनी दिएका छन् । मोटरमा फेसकाहरूको उद्धार गर्न उद्धारकर्तालाई हम्मेहम्मे परेको छ । अधिक चिसोका कारण न्युयोर्कमा दुई जनाले ज्यान गुमाएका तथा बफेलोमा १० जनाको मृत्यु भएको छ ।

गत शुक्रबार दिउँसो ओहायो राज्यको स्यान्डुस्की नजिकै ओहायो टर्नपाइकमा ४६ सवारी साधन एकापसमा ठोक्किँदा चार जनाको मृत्यु भएको थियो । ओहायोका गभर्नर माइक डेवाइनले उक्त घटनालाई सडकमा भएका गत साताका भयानक दुर्घटना भनेका छन् ।

क्रिसमसको पूर्वसन्ध्यामा भएको व्यापक हिमपात र आँधीका कारण लाखौँ घर अन्धकार भएका थिए । अमेरिकाभित्र र बाहिर जाने तीन हजार तीन सयभन्दा बढी हवाई उडान शनिबार रद्द भएका थिए भने करिब सात हजार पाँच सय उडानमा विलम्ब भएको थियो ।-



प्रतिक्रिया दिनुहोस्

Screenshot