Logo

विद्यालयमा नर्स व्यवस्थापछि विद्यार्थीलाई सहज



काठमाडौँ,१२ पुष । तनहुँका केही विद्यालयले ‘नर्स कार्यक्रम’ सुरु गरेपछि विद्यार्थीलाई सहज भएको छ । बालबालिका नियमित उपस्थित गराउन र विद्यार्थीको नियमित स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउने उद्देश्यसहित सुरु गरिएको नर्स कार्यक्रममार्फत् विद्यार्थीलाई सहज भएको हो ।

विद्यालयमै नर्सको व्यवस्था भएपछि विद्यार्थीले सामान्य स्वास्थ्यपरीक्षणका लागि स्वास्थ्य संस्थासम्म जानपर्ने बाध्यता हटेको हो । व्यास नगरपालिका(२ स्थित सत्यवती माध्यमिक विद्यालयले नर्स सुनिता जोशीमार्फत् नर्सिङ सुविधा प्रदान गरेको विद्यालयका प्रधानाध्यापक एकबहादुर गुरुङले जानकारी दिए ।

प्राथमिक उपचारका लागि आवश्यक औषधि, औजार र उपकरणको व्यवस्था विद्यालयले मिलाएको छ । विद्यार्थी धेरै भएकाले बिरामी भइरहने, घाइते हुने गरेकाले उपचारमा सहज बनाउन नर्स राखिएको उनको भनाइ छ । विद्यालयमा दुई हजार सात सय विद्यार्थी अध्ययनरत छन् । विद्यालय नर्सले सेवा दिने÷परामर्श गर्ने छुट्टै कक्षको व्यवस्था मिलाएको छ ।

व्यक्तिगत र वातावरणीय सफाइ तथा फोहरमैला व्यवस्थापन, स्वस्थकर जीवनशैली, सामान्य स्वास्थ्य परीक्षण र पोषणको लेखाजोखा गर्ने जिम्मेवारी नर्सलाई दिइएको छ ।

अखाद्य वस्तु ‘जङ्क फुड’ को प्रयोगमा नियन्त्रण, यौनजन्य हिंसा न्यूनीकरण, शारीरिक तथा मानसिक स्वास्थ्य शिक्षा, धूमपान, मद्यपान र सूर्तीजन्य पदार्थको दुरुपयोग न्यूनीकरणका लागि अभिभावक तथा समुदायलाई स्वास्थ्य शिक्षा प्रदान गर्ने गरेको विद्यालयले जनाएको छ ।

रजस्वलाका बेला छात्रा लजाउने, प्याड प्रयोग गर्न अप्ठ्यारो मान्ने समस्या पनि यो सुविधापछि समाधान हुने विद्यालयले अपेक्षा लिएको छ । किशोरीलाई प्याडको आवश्यकता र यौन स्वास्थ्यबारे नर्स जोशीले सिकाउने गर्नुभएको छ । महिनावारी भएका बेला छात्रालाई सेनेटरी प्याड विद्यालयले निःशुल्क प्रदान गर्ने गरेको छ ।

विद्यार्थीलाई व्यक्तिगत सरसफाइ जस्तै हात धुने, नङ काट्ने, दाँत माझ्ने, नुहाउने, यौनाङ्गको सरसफाइको बारेमा महत्व बुझाएर व्यवहार परिवर्तन गर्नुका साथै महिनावारी हुँदा गर्नुपर्ने सरसफाइ, प्याड बनाउने, लगाउने तरिका र फोहर प्याड व्यवस्थापन गर्ने तरिकाबारे नर्ससँग खुलेर कुरा गर्न सक्ने विद्यालयको अपेक्षा छ ।

जिल्लाको आँबुखैरेनी गाउँपालिकाले पनि पहिलो पटक रामशाह माध्यमिक विद्यालयमा नर्स कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले आफ्नै स्रोतबाट तलब खुवाउने गरी पहिलो पटक विद्यालयमा नर्स कार्यक्रम सुरुआत गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमप्रसाद उपाध्यायल नर्सले गाउँपालिकासँग प्रत्यक्ष सम्पर्कमा रहेर विद्यालयमा सेवा दिने बताए। रामशाह माविमा करिब एक हजार आठ सय विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयमा नर्स भएपछि विद्यार्थीको स्वास्थ्यको ख्याल गर्नका लागि आलोपालो मिलाएर रक्तचाप नाप्ने, ज्वरो नाप्ने तथा स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने, स्वास्थ्य सचेतना दिनेलगायतका कार्यक्रम गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु शर्माले जानकारी दिए ।

बालबालिका धेरै समय विद्यालयमा रहने भएकाले स्वास्थ्य समस्या पर्दा उपचार नहँुदा समस्या पर्नसक्ने भएकाले यो सुविधा प्रभावकारी हुने विश्वास गरिएको छ । नर्सले किशोरकिशोरीलाई प्रजनन, परिवार नियोजन, महिनावारी स्वास्थ्य र यौन तथा यौनिकताका सन्दर्भमा समेत परामर्श दिँदै आएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot