काठमाडौँ,१३ पुष । लामो समयदेखि पानी नपर्दा नेपालका अधिकांश भू–भागमा सुक्खापन बढेको देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पानी नपर्दा देशभर सुक्खापन बढेको जनाएको हो । पानी नपरेकै कारण प्रदूषण समेत बढ्दै गएको बताइएको छ । केही दिनअघि केही ठाउँमा फाट्टफुट्ट पानी परे पनि राम्ररी वर्षा भने हुन सकेको छैन ।
उता पानी नपर्दा बढेको सुक्खापनले कृषि क्षेत्रमा पनि असर पर्न थालेको बताइएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार सामान्यतया मङ्सिर १६ गतेदेखि फागुन १७ गतेसम्मलाई हिउँदे वर्षाको समय मानिन्छ । तर, पुस १३ सम्म पानी पर्न सकेको छैन । उहाँका अनुसार तत्काललाई पानी पर्ने सम्भावना पनि छैन ।
नेपालमा हिउँदको समयमा वर्षा गराउने प्रमुख भूमिका पश्चिमी वायुको हुने भएपनि अहिले नेपालमा पश्चिमी वायुको प्रभाव सामान्य परिरहे पनि त्यो शक्तिशाली नहुँदा पानी पर्न नसकेको मौसमविद् कँडेलले बताए । उनले भने, “यही प्रणालीका कारण उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपात् भइरहेको छ । पहाडी जिल्लाको मौसम आंशिकदेखि सामान्य बदली र तराईका जिल्लामा हुस्सु कुहिरो लाग्ने गरेको छ । तर, पानी पार्ने गरी सक्रिय नहुँदा वर्षा हुन सकेको छैन ।”
मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्यतया काठमाडाँैमा डिसेम्बर महिनामा १३ दशमलव २ मिलिमिटर पानी पर्नुपर्छ । तर, यो वर्ष आज डिसेम्बर २८ सम्म पनि पानी पर्न सकेको छैन । पानी नपर्दा काठमाडौँसहित सबैजसो ठाउँमा सुक्खापन बढेको छ ।
उता वर्षा नभई प्रदूषणसँगै सुक्खापन समेत बढेकाले आगलागीका घटना पनि बढ्न थालेका छन् । आज हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । उता लुम्बिनी र सुदूरपश्चिमका जिल्लाहरुमा हुस्सु कुहिरो लागेको छ भने अरु ठाउँको मौसम भने सामान्यता सफा नै रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रासस