Logo

सुविधा नलिएका शिक्षकलाई पुनः अवसर



काठमाडौं, पुस १७ । विगतमा सरकारले दिएको उपदान (गोल्डेन हेन्डसेक) सुविधा लिन छुटेका विद्यालयका शिक्षकलाई सरकारले फेरि अवसर दिएको छ ।

यस्तो सुविधा लिन नपाएकालाई सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा निवेदन दिन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अनुरोध गरेको छ । सरकारले २०७३ साल असार १५ गतेसम्म अस्थायी रूपमा कार्यरत शिक्षकलाई यस्तो सुविधा दिएको थियो ।

सोहीबमोजिम मन्त्रालयले २०७५ चैत ११ गतेको सचिवस्तरीय निर्णय गरेर पहिलो पटक सूचना प्रकाशित गरेको थियो । सो सूचनाअनुसार उक्त सेवाबाट वञ्चित भएको भन्दै केहीले सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा निवेदन दिएको केन्द्रले जनाएको छ । शिक्षक सम्बद्ध सङ्घ सङ्गठनले पनि छुटेकाहरूलाई सोहीबमोजिम सुविधा दिन मन्त्रालय तथा केन्द्रलाई अनुरोध गरेको थियो ।

त्यसका लागि केन्द्रले सूचना प्रकाशन गरेर सो सुविधा नपाएका अस्थायी शिक्षकलाई निवेदन पेस गर्न अनुरोध गरेको छ तर कति दिनभित्रमा निवेदन पेस गर्ने भन्ने विषयमा भने केन्द्रले केही खुलाएको छैन । यसअघि गत असोज १२ गते पनि मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेर ३० दिनभित्र राष्ट्रिय किताबखाना (शिक्षक)मा निवेदन पेस गर्न भनेको थियो । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot