Logo

प्रधानमन्त्री दाहालले आज सचिवहरुलाई ३० बुँदे निर्देशन जारी गर्दै



काठमाडौं, पुस १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको कामकारवाहीलाई प्रभावकारी बनाउन आज ३० बुँदे निर्देशनसहित विशेष सम्बोधन गर्दैछन् ।

प्रधानमन्त्री दाहालले आज चुस्त सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण र नागरिकका गुनासोको तत्काल सम्बोधनमा केन्द्रित रहेर ३० बुँदे निर्देशनात्मक सम्बोधन गर्न लागेका हुन् ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा नेपाल सरकारका सचिवहरुसँग भएको छलफलमा सचिवहरुले आ–आफ्नो मन्त्रालयको वस्तुस्थितिबारे प्रधानमन्त्रीलाई रिपोर्टिङ गरेका थिए ।

छलफलमा गृह, अर्थ, शिक्षा, परराष्ट्र, भौतिक पूर्वाधार, संस्कृति तथा पर्यटन लगायतको मन्त्रालयका सचिवहरूले आफ्नो रिपोर्ट प्रस्तुत गरिसकेका छन् ।

आज सबै सचिवहरूको रिपोर्ट सुनिसकेपछि प्रधानमन्त्रीले निर्देशनात्मक सम्बोधन गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री दाहालले अहिले बिहान सिंहदरबारमा विभिन्न मन्त्रालयका सचिवहरुको बैठक बोलाएर ३० बुँदे निर्देशन जारी गर्न लागेका हुन् ।

पछिल्लो समय सर्वसाधारणले नागरिकता, राहादानी, राष्ट्रिय परिचयपत्र बनाउन सास्ती भोग्न थालेको, थेग्ने नसक्नेगरी महँगी बढेको लगायतका गुनासा गर्न थालेपछि जनताका समस्या समाधान गर्न प्रधानमन्त्रीले सचिवहरुलाई निर्देशन जारी गर्न लागेका हुन् ।

नागरिकलाई सेवा प्रदान गर्ने निकायमा भइरहेको बेथिति अन्त्य गर्ने घोषणा गरेका प्रधानमन्त्री दाहालले विशेष गरी राहदानी वितरण, सवारी चालक अनुमतिपत्रलगायत सेवाग्राहीको बढी भीडभाड हुने कार्यालयको कामलाई सरल र सहज बनाउन सचिवहरुलाई आज निर्देशन जारी गर्न लागेका हुन् ।

यसअघि पुस १३ गते उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राहदानी विभागको अनुगमन गरेका थिए । मन्त्री लामिछाने अनुगमनमनका लागि विभागको कार्यलय त्रिपुरेश्वर पुग्नु र देशभरका प्रमुख जिल्ला अधिकारीसँगको छलफललाई स्टन्टवाजीको रुपमा हेर्न थालिएको छ ।

मन्त्री लामिछानेले यही सोमबार जनताको गुनासो नआउने गरी काम गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको निर्देशनलाई समेत स्टन्टको रुपमा हेरिएको छ । उनले शभरका प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका प्रमुखको बैठकमा नागरिकलाई शुसाशनको प्रत्याभूति महसुस हुनेगरी काम गर्न  निर्देशन दिएका थिए ।

पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले पदभार ग्रहणलगत्तै सुशासन र नागरिकलाई सरल र सहजरुपमा सेवा प्रदान गर्ने घोषणा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot