Logo

प्रधानमन्त्रीले आज विशेष निर्देशनात्मक सम्बोधन गर्ने



काठमाडौं, पुस १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउने सम्बन्धमा विशेष निर्देशनात्मक सम्बोधन गर्दैछन् ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि सरकारको काम कारवाही प्रभावकारी बनाउन सरकारका सचिवसँग छलफलमा जुटेका उनले आज पहिलोपटक विशेष सम्बोधन गर्ने भएका हुन् ।

पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले सुशासन र नागरिकलाई सरल र सहजरुपमा सेवा प्रदान गर्ने यसअघि नै घोषणा गरिसकेका थिए । पुस ११ मा उनले नागरिकलाई सेवा प्रदान गर्ने निकायमा भइरहेको बेथिति अन्त्य गर्ने घोषणा गरेका थिए ।

विशेष गरी राहदानी वितरण, सवारी चालक अनुमतिपत्रलगायत सेवाग्राहीको बढी भीडभाड हुने कार्यालयको कामलाई सरल र सहज बनाउने प्रधानमन्त्रीको योजनाअनुसार सोमबार पहिलो चरणमा प्रधानमन्त्रीले सचिवहरुसँग छलफल गरेका छन् । आजपनि छलफललाई जारी राख्दै केही सचिव र विभागका प्रमुखको कार्यविवरणबारे प्रस्तुति सुनेर निर्देशनात्मक सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा सचिवहरुले आ–आफ्नो मन्त्रालयको वस्तुस्थितिबारे प्रधानमन्त्रीलाई ‘रिपोर्टिङ’ गरेका थिए । उनीहरुले मन्त्रालयको नीति तथा कार्यक्रम, वार्षिक बजेट र कार्यसम्पादनमा भएका कमी तथा कमजोरीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।

सोमबारको छलफलमा गृह, अर्थ, शिक्षा, परराष्ट्र, भौतिक पूर्वाधार, संस्कृति तथा पर्यटनलगायत मन्त्रालयका सचिवहरूले आ–आफ्नो मन्त्रालयको प्रतिवेदन प्रस्तुत गरेका थिए । केही सचिव र विभागको विवरण आज प्रस्तुत भएपछि प्रधानमन्त्रीले निर्देशनात्मक सम्बोधन गर्ने कार्यसूची रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot