Logo

हलेसी तुवाचुङमा महिलाको पाठेघरको उपचार गर्न स्वास्थ्यकर्मी खटाइने



काठमाडौं, २३ पुष । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले महिलाको पाठेघरको उपचार गर्न स्वास्थ्यकर्मीलाई घरघरमा पठाउने भएको छ । नगरपालिकामा पाठेघर (आङ खस्ने) समस्या भएका महिलाको सङ्ख्या अत्यधिक भएकाले उपचारका लागि स्वाथ्यकर्मी खटाउन लागिएको हो । पाठेघरको उपचारका लागि नगरपालिकाले तीन चरणको कार्यक्रम तयार गरेको छ । पहिलो चरणअन्तर्गत शुक्रबार नगरपालिकाका ११ वटै वडामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिएको छ । पाठेघरको रोगको पहिचान गर्न तथा त्यसको उपचारका लागि ‘सुनौलो परिवार नेपाल’बाट प्रशिक्षक ल्याई नगरपालिकाका स्वास्थ्यकर्मीलाई तालिम दिइएको नगर स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले जानकारी र्दिए ।

‘दोस्रो चरणअन्तर्गत स्वास्थ्यकर्मीलाई आगामी माघ १ देखि ९ गतेसम्म घरघरमा खटाइनेछ’, उनले भने । एक सहयोगीका साथ स्वास्थ्यकर्मी वडाको प्रत्येक घरमा पुगेर उपचार प्रक्रिया थाल्नेछन् । आङ खस्ने समस्याको पहिलो र दोस्रो चरण भएमा स्वाथ्यकर्मीले तत्काल रिङप्रेसरी लगाउनेलगायतका उपचार थाल्ने घिमिरेले बताए । आङ खस्ने तेस्रो वा चौथो चरणको अवस्थामा शल्यक्रियामार्फत उपचार गर्नुपर्ने महिलाको तथ्याङ्क सङ्कलन गरिनेछ ।  तेस्रो चरणअन्तर्गत जिल्ला अस्पताल दिक्तेलमा बाहिरबाट दक्ष चिकित्सक ल्याएर बिरामीको शल्यक्रिया गरिने नगर प्रमुख विमला राईले बताइन् । ‘नगरपालिकाले आफ्नै लगानीमा बिरामीको उपचार गर्ने व्यवस्था मिलाएको छ’, उनले भनिन् । दिक्तेलमा सम्भव नभए अन्य सुविधा सम्पन्न अस्पतालमा लगेर भए पनि निःशुल्क उपचार गर्ने प्रमुख राईले बताए ।

‘पाठेघर जोगाउने अभियानमा नगरपालिका लागेको छ,’ उनले भने, ‘पाठेघर खस्ने समस्या अधिकांश महिलामा देखिएको छ, यसप्रति नगरपालिका चिन्तित छ ।’ गत आर्थिक वर्षमा नगरपालिकाले विभिन्न ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । नगरपालिकाले गत आवमा बाहुनीडाँडाको झाप्पा, अर्खौलेको नवलपुर, सल्ले र मङ्गलटारमा पाठेघर खसेका महिलाको उपचारका लागि शिविर सञ्चालन गरेको थियो ।

‘स्वास्थ्य शिविरमा उपचार गर्न आउने महिलाको सङ्ख्या न्यून पाइएकाले अब घरघरमै गएर समस्या पत्ता लगाउँदै उपचार गर्ने कार्यक्रम तयार पारेका हौँ’, नगरप्रमुख राईले भने । अधिकांश महिला रोग लुकाएर बस्ने गरेको पाइएपछि उनीहरुको उपचारका लागि नगरपालिकाले सक्रियता देखाएको हो । हलेसी तुवाचुङमा उमेर नपुगी विवाह गर्नेको सङ्ख्या धेरै रहेको नगरपालिकाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot