दार्चुला, २४ पुष । सरकारले ४ वर्ष अगाडि नै देश तुइनमुक्त भएको घोषणा गरेपनि नेपालीहरुले तुइनमै ज्यान गुमाउनु परेको छ। सरकारले तुइन विस्थापन गरेका वाचा र बारम्बार दावा गरे पनि विस्थापन गर्न भने सकेको छैन। महाकाली नदीमाथि रहेका तिनै तुइनलाई पुलले विस्थापन नगर्दा नेपालीको ज्यान जाने गरेको छ।
दार्चुलामा नेपाल-भारत सीमामा ५ वटा झोलुंगे पुल (लाली, जोलजीवी, दत्तु, खलंगा पुल, तिग्रम-ब्याँस र एउटा काठेपुल, ब्यास–१ सीतापुल) बाहेक महाकाली नदीमाथि केही स्थानमा अझै तुइन रहेका छन्।
गत साउन १५ गते भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले तुइन खुस्काउँदा दार्चुलाका जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएको खबरले धेरै ठूलो चर्चा पायो। उनी खसेको वर्षदिन बितिसक्दापनि अझै उनको शव भेटिएको छैन।
यस्तै बिहीबारमात्रै महाकाली नदीमा तुइनबाट खसेर १० वर्षिय बालक बेपत्ता भएका छन्। ब्यास गाउँपालिका-४ डोकटस्थित कौनणीमा तुइन तर्ने क्रममा खसेर बालक बेपत्ता भएका हुन्।
नेपालबाट भारत जाने क्रममा १० वर्षिय दीपेन्द्र बिष्ट तुइनबाट खसेर बेपत्ता भएको ब्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले बताए।
बिहीबारको घटना भएपनि दुर्गम क्षेत्र भएको हुँदा शनिबार मात्र जानकारीमा आएको उपाध्यक्ष कुँवरले जानकारी दिए। उनको शव अझै भेटिएको छैन।