Logo

तत्काल राष्ट्रिय सहमतिकाे सरकार बनाउन सम्भव छैन: एमाले नेता



काठमाडौं, २६ पुस । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता एवं विदेश विभाग प्रमुख डा. राजन भट्टराईले राष्ट्रिय सहमतिकाे सरकार बनाउन अब सम्भव नहुने बताएका छन् ।

अब त्यस्ताे सरकार बनाउनुभन्दा नेपाली कांग्रेसले पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वकाे सरकारलाई बिनासर्त विश्वासकाे मत दिनुपर्ने उनले औल्याए।

नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता भट्टराईले भने, ‘राष्ट्रिय सहमतिकाे सरकार बन्छ भने त एमालेकाे आपत्ति छैन । तर तत्काल त्यस्ताे स्थिति देखिँदैन ।’ नेपाली कांग्रेसलाई जनमतबाहिर गएर गैरजिम्मेवार बन्ने छुट नभएकाे उनले औल्याए।

भट्टराईले भने, ‘देश अप्ठ्याराेमा छ । यसलाई बुझेर उसले विश्वासकाे मत दिन्छ भने त्याे स्वागतयाेग्य नै हुन्छ ।’ साथै उनले ओम्नी काण्ड तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बदनाम गर्न उछालिएकाे आराेप लगाए । उनले थपे, ‘भ्रष्टाचारका काण्डकाे छानबिन गर्नु नाजायज हाेइन । तर ओम्नी ललिता निवास, वाइड बडीजस्ताे काण्ड हाेइन । याे तत्कालीन सरकारलाई बदनाम गर्न ल्याइएकाे हाे । त्यसमा सरकारकाे एक पैसा पनि परेकाे छैन ।’

भट्टराईले लिम्पियाधुरा, कालापानी र लिपुलेक कूटनीतिक संवादकाे माध्यमबाट फिर्ता ल्याइनु पर्ने बताए । उनले भने, ‘सन् १८१६ काे सुगाैली सन्धिकाे धारा ५, नक्सा र स्वामित्वका कारण नेपालले त्यसमा हकदाबी गरेकाे हाे । यसलाई टुंगाेमा पुर्र्याउन समय लाग्छ । याे रातारात फिर्ता हुने विषय हाेइन ।’



प्रतिक्रिया दिनुहोस्