Logo

राष्ट्रपति निर्वाचनमा राप्रपाले कसैलाई भाेट हाल्नुहुँदैन: डा. लाेहनी



काठमाडौं, २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष प्रकाशचन्द्र लाेहनीले पृथ्वीनारायण शाहकाे दिव्याेपदेशलाई आत्मसात गर्न सके प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सफल हुने विश्वास व्यक्त गरेका छन् ।

‘पृथ्वीनारायण शाहकाे अढाइ सय-तीन सय वर्षअगाडिका सूत्र अहिले पनि सामयिक छन् । देश कसरी बनाउने भन्ने पृथ्वीनारायण शाहकाे सूत्रबाट देङस्याअाे पेङले चीनकाे कायाकल्प गराए ।विकास, समृद्धि, सुशासन, विदेशनीतिमा उनका विचार ग्रहण गर्न सके प्रचण्ड सफल हुन सक्छन्,’ नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग संवाद गर्दै लाेहनीले भने ।

नेता लाेहनीले पृथ्वीनारायण शाहका बारेमा पाठ्यक्रम बनाएर नयाँ पिँढीलाई पाठ पढाउनुपर्ने पनि बताए । उनले भने, ‘हापुरे वार्तामा बाबुराम भट्टराई र कृष्णबहादुर महराले पृथ्वीनारायण शाहलाई आधा घण्टा गाली गरेका थिए । दाैरा सुरुवाल लगाउन प्रचण्डलाई २० वर्ष लाग्याे । अब त्यस्ताे नहाेस् ।’

राप्रपा सरकारमा जाने कुरामा रवीन्द्र मिश्र, आफू लगायतकाे विमति रहेकाे पनि उनले बताए । लाेहनीले भने, ‘हामीले संविधान बनाउने बेला धर्म निरपेक्षताबारे जनताले दिएकाे सुझाव खाेल्नुपर्ने सर्त राख्न भनेका थियाैं । साथीहरूले आफ्नाे पहिचान छाड्दैनाैं भन्नुभएकाे छ ।हामी संवैधानिक आलंकारिक राजतन्त्रकाे पक्षमा छाैं । अब कम्तीमा राष्ट्रपति निर्वाचनमा राप्रपाले कसैलाई भाेट हाल्नुहुँदैन ।’

फरक प्रसंगमा उनले सरकारलाई विश्वासकाे मत दिएर सत्तामा बस्ने र लामा हात गर्ने प्रवृति देखाएकाे आराेप पनि लगाए ।



प्रतिक्रिया दिनुहोस्