काठमाडौं, २७ पुस । वरिष्ठ अधिवक्ता डा. रुद्र शर्माले प्रमुख प्रतिपक्षबिनाकाे संसदीय अभ्यासबाट सरकार अनुत्तरदायी हुन्छ कि भन्ने चासाे र चिन्ता स्वाभाविक भएकाे बताएका छन् ।
‘संसदीय अभ्यासमा सत्तापक्ष र प्रतिपक्ष हुन्छन् । सशक्त प्रतिपक्षबिना सरकार अनुत्तरदायी हुने चिन्ता र चासाे स्वाभाविक हाे । तर सरकारलाई विश्वासकाे मत दिँदैमा आकाशै खस्याे वा संसदीय अभ्यास विशृंखलित भयाे भन्ने हाेइन । गुणदाेषका आधारमा कांग्रेस, एमाले वा जुनसुकै दलका सांसदले सरकारलाई खबरदारी गर्न सक्छन्,’
नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग संवाद गर्दै कानुनविद् शर्माले भने । शर्माले वर्तमान संसदकाे बनाेट अनुसार कांग्रेसले सरकारलाई विश्वासकाे मत दिँदा संवैधानिक व्ववस्थाकाे कुठाराघात नभएकाे जिकिर गरे ।
उनले भने, ‘कांग्रेस सत्ताकाे खेलमा फस्याे कि फसेन, म भन्न सक्दिनँ । मुख्य कुरा सरकार संसदबाट जन्मिनुपर्छ र जनताप्रति उत्तरदायी हुनुपर्छ । सीमित संवैधानिक जटिलताका बाबजुद संसद र सरकार प्रजातान्त्रिक बहुलवादभन्दा पर जान सक्दैनन् ।’
जनमत राष्ट्रिय सहमतिकाे पक्षमा भएकाले निराश हुनुपर्ने अवस्था नभएकाे उनकाे टिप्पणी छ । ‘अहिले साना दलले पनि प्रतिपक्षकाे भूमिका निर्वाह गर्न सक्थे । तर नेपालीहरू मिलेर जाँदा त्यस्ताे चिन्तीत हुनु पर्दैन । प्रतिपक्षकाे भूमिका मिडिया र बारले पनि निर्वाह गर्न सक्छन् ।’