Logo

दस वर्षमा हजार जनाको प्रत्यारोपण



काभ्रेपलाञ्चोक, पुस २९। भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षमा एक हजार बिरामीको मिर्गौला प्रत्यारोपण भएको छ । केन्द्रमा हाल दैनिक चार जनासम्मको मिर्गौला प्रत्यारोपण हुने गरेको छ ।

धर्मभक्त प्रत्यारोपण केन्द्रमा पहिलो पटक २०६९ माघ ६ गते मिर्गौला प्रत्यारोपण भएको थियो । केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले सुरुमा प्रत्यारोपण गराउन बिरामी पाउनै मुस्किल रहेकोमा हाल तीन सय जना बिरामी प्रत्यारोपणको पालो पर्खाइमा रहेको जानकारी दिए ।

केही वर्षयता औसत वार्षिक दुई सय जनाका दरले प्रत्यारोपण हुन थालेको जानकारी दिँदै उनले नेपालमा आफ्नो नेतृत्वमा एक हजार ४८ जनाको मिर्गौला प्रत्यारोपण गरिसकिएको बताए । डा श्रेष्ठको नेतृत्वमा धर्मभक्त प्रत्यारोपण केन्द्र, वीर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका अस्पतालमा मिर्गौला प्रत्यारोपण हुँदै आएको छ ।

एउटा केन्द्रमा एक हजार जनाको मिर्गौैला प्रत्यारोपण हुनुलाई ऐतिहासिक सफलता भएको उनले बताए । विश्वभरि नै मिर्गौला रोगको प्रकोप बढिरहेको भन्दै उनले रोगको पहिचान तथा उपचार र रोकथामका महत्वपूर्ण उपायबारे नागरिकलाई सचेत गराउनुपर्नेमा जोड दिए । विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक १० जनामध्ये एक जनालाई कुनै न कुनै किसिमको मिर्गौला रोग लाग्ने गरेको अनुमान छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्