Logo

अमेरिका र भारतमा मूल्य वृद्धिदर घट्यो



काठमाडौं, पुस २९। अमेरिका र भारतमा उपभोक्ता मूल्य वृद्धि (महँगी) दर घटेसँगै नेपाललाई पनि राहत हुने भएको छ । बिहीवार प्रकाशित तथ्यांकअनुसार डिसेम्बरमा भारतमा महँगी ५ दशमलव ७२ प्रतिशतमा झरेको छ । अघिल्लो महीना यो ५ दशमलव ८८ प्रतिशत थियो ।

अमेरिकामा पनि उपभोक्ता मूल्य वृद्धिदर ६ प्रतिशतबाट घटेर डिसेम्बरमा ५ दशमलव ७ प्रतिशत कायम भएको अन्तरराष्ट्रिय सञ्चार माध्यमले बताएका छन् । कोभिड–१९ महामारी र रूस–युक्रेन युद्धपछि विश्वभर मूल्यवृद्धि उच्च भएको थियो । तर, पछिल्ला दिनमा पेट्रोलियम पदार्थ र खाद्य सामग्रीको मूल्य घटेसँगै महँगीको दर पनि घटेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।

विदेशमा मूल्यवृद्धि उच्च हुँदा त्यसको प्रभाव नेपाली अर्थतन्त्रमा पनि पर्दै आएको छ । नेपाल आयातमा आधारित अर्थतन्त्र रहेकाले महँगी पनि आयात हुँदै आएको नेपाल राष्ट्र बैंकले आफ्नो प्रतिवेदनमा उल्लेख गर्दै आएको छ । भारतीय र अमेरिकाको मूल्य वृद्धिदरमा आएको कमीको सकारात्मक प्रभाव आगामी महीना नेपालमा देखिने अपेक्षा गरिएको छ ।

सरकार र राष्ट्र बैंकले चालू आर्थिक वर्षमा उपभोक्ता मूल्यवृद्धि ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य तोकेका छन् । तर, हालसम्म उक्त लक्ष्यभित्र मूल्यवृद्धि कायम हुन सकेको छैन । गत कात्तिकमा नेपालको महँगी दर ८ दशमलव शून्य ८ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । भदौमा त महँगी दर ८ दशमलव ६४ प्रतिशत पुगेको थियो ।

नेपालको अर्थतन्त्र आयातमा निर्भर भएकाले अन्तरराष्ट्रिय बजारको मुद्रास्फीति र अमेरिकी डलरलगायत अन्य परिवत्र्य विदेशी मुद्राको मूल्यमा हुने उतारचढावबाट सीधै प्रभावित हुने अर्थशास्त्री बताउँछन् । नेपालको सबैभन्दा ठूलो आयात साझेदार भारत भएकाले त्यहाँ मुद्रास्फीति तलमाथि हुँदा नेपालमा आयात हुने महँगी पनि तलमाथि हुने गर्छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot