Logo

संघीयताविरोधीलाई काखी च्याप्ने बागमती प्रदेश सरकारलाई विश्वासको मत दिँदैनौंः कांग्रेस सांसद



काठमाडौं, ३० पुस । नेपाली कांग्रेसका नेता एवं बागमती प्रदेशका सांसद कुन्दनराज काफ्लेले सरकारलाई विश्वासको मत दिँदैमा आफ्नो पार्टी भूमिकाशून्य नभएको दाबी गरेका छन् ।
‘सत्ताको अंकगणितमा पछि परे पनि अहिले मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस नै हो । सरकारलाई विश्वासको मत दिनुको अर्थ कांग्रेस भूमिकाशून्य भएको होइन । लोकतान्त्रिक अभ्यासमा विश्वासको मत दिनुको अर्थ गुण र दोषका आधारमा सरकारलाई समर्थन र विरोध हुन्छ । हामीले सरकार जानका लागि प्रचण्डलाई समर्थन गरेका होइनौं, विश्वासको मत कुनै बिन्दुमा फिर्ता लिन पनि मिल्छ । कांग्रेसको भूमिका प्रतिपक्षमै हुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै काफ्लेले भने ।
उनले कांग्रेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका दिएको आरोप पनि लगाए । काफ्लेले भने, ‘प्रचण्डजी प्रधानमन्त्री हुन यति लालायित हुनुभयो कि कांग्रेससँगको छलफलमा टिक्नु भएन । हतारहतारमा अरु दलसँग मिलेर जानुभयो । तैपनि पहिलेको गठबन्धनको सहयात्री दललाई मियो दलका नाताले नेपाली कांग्रेसले समर्थन गरेको हो ।’ सरकारलाई समर्थन गरेबापत कांग्रेसले सभामुख वा राष्ट्रपति नमागेको पनि उनले स्पष्ट पारे ।
काफ्लेले वागमती प्रदेशको सरकारलाई आफ्नो दलले विश्वासको मत नदिने पनि बताए । उनले थपे, ‘प्रदेश सरकारलाई हामी विश्वासको मत दिन सक्दैनौं । सरकारमा पनि जाँदैनौं । सभामुख नै संघीयताविरोधी छन् । संघीयता विरोधी शक्तिलाई बोकेर हिँडेको सरकारलाई किन समर्थन गर्ने ?’
पार्टीको विधानको व्यवस्था अनुसार विशेष महाधिवेशन, नीति महाधिवेशन वा महासमिति बैठक जे पनि हुन सक्ने उनले औंल्याए । काफ्ले भने, ‘कांग्रेस विधि र पद्धतिमा विश्वास राख्ने पार्टी हो । कुन प्रक्रियामा जाने भन्ने विषयमा विधान नै बोल्छ । सबै कुरा विधानमा टेकेर हुने कुरा हो । कांग्रेसले सदैव व्यक्तिगत स्वतन्त्रतालाई महत्त्व दिन्छ । पार्टीभित्र मत विमति हुनु नौलो कुरा होइन । तर कांग्रेसलाई व्यवस्थित गर्नुपर्ने चुनौतीचाहिँ छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot