Logo

छाडा चौपायाबाट किसान हैरान, बाली जोगाउनै मुस्किल



काठमाडौं, ३० पुष । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का सरस्वती भट्टको पाँच कट्ठा खेतमा लगाएको गहुँ बाली छाडाचौपायाले सखाप पारिदियो । खेतमा मात्रै होइन छाडा चौपाया उहाँको बारीमै पसेर तरकारी खेतीसमेत नोक्सान गरिदियो । ‘खेतमा तारबार गरेकी छु, तर बार तोडेर गहुँ सखाप पारिदियो । छाडाचौपायाका कारण बाली जोगाउनै मुस्किल भयो,’ भट्टले भनिन् ।

छाडा चौपाया घरभित्रै पसेर नोक्सानी गर्न थालेको उनले बताइन् । पछिल्लो समय छाडा पशुचौपायाको विकराल समस्या बनेको छ । स्थानीय सरकारले लाखौँ रकम छाडा चौपाया व्यवस्थापनमा खर्च गरे पनि दिगो व्यवस्थापन नहुँदा एकातर्फ किसानको खेतमा नोक्सानी पुग्ने गरेको छ भने अर्कोतर्फ सडक दुर्घटनाको जोखिम पनि उत्तिकै छ । शुक्रबार छाडा चौपायाबाट हैरानी खेपेका स्थानीयले सडकका चौपाया एकत्रीत गरेर भीमदत्त नगरपालिका परिसरमा पु¥याएका थिए । व्यवस्थापन चुनावी ऐजेन्डा बनाएका जनप्रतिनिधिले निर्वाचित भएको छ महिना बितिसक्दासमेत समस्या समाधान नगरेको भन्दै आक्रोसित भएका स्थानीयले नगरपालिकामा छाडा चौपाया ल्याएर छोडेका थिए ।

नगरपालिकाको प्रवेशद्वारभित्र छाडा चौपाया हुल्न खोजेपछि रोक्न खोज्दा आक्रोशित स्थानीय र प्रहरीबीच केहीबेर धकेलाधकेलसमेत भयो । स्थानीय कृष्णदत्त जोशीले नगरपालिकाले छाडा चौपाया व्यवस्थापन गर्न नसक्दा किसानको अन्नबाली नष्ट भएको बताए । ‘अहिलेसम्म नगरपालिकाले छाडा चौपायाको व्यवस्थापन गर्न सकेको छैन, बाली खाएर सखाप पारेको छ । नगरपालिकाले व्यवस्थापन नगर्दा किसान मारमा परेका छन्,’ उनले भने ।

निर्वाचनका बेला छाडा चौपाया व्यवस्थापन गर्छु भनेर मत मागेका जनप्रतिनिधिले वाचा पूरा नगरेको उनको आरोप छ । भीमदत्त नगरपालिकाका नगर प्रवक्ता महेन्द्र खड्काले छाडा चौपाया व्यवस्थापनका लागि काम अगाडि बढाएको बताए । ‘छाडा चौपाया व्यवस्थापनका लागि समिति बनाएर काम गर्दैछौँ, कुन ठाउँमा राख्न सकिन्छ भनेर जग्गा खोज्ने काम भइरहेको छ । जग्गा प्राप्तीपछि छिट्टै व्यवस्थापनमा लाग्छौँ,’ उनले भने । छाडा चौपायाले जिल्लाभर किसानले लगाएको अन्नबाली नोक्सानी गर्ने गरेका छन् । यसअघि बेदकोट नगरपालिकामा पनि छाडा चौपाया व्यवस्थापन नगरेको भन्दै स्थानीयले आन्दोलन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot