Logo

पेरूको प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या ४२ पुग्यो



लिमा, २ माघ। पेरूमा नयाँ निर्वाचन र राष्ट्रपति बोलुआर्टेको राजीनामाको माग गर्दै पाँच सातादेखि जारी झडपमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ ।

राजधानी लिमा र अन्य तीन क्षेत्रमा आइतबार आपतकालीन अवस्था घोषणा गरिएको छ भने राष्ट्रपति डिना बोलुआर्टेको विरोधमा हप्तौंदेखि जारी प्रदर्शन कम हुने कुनै सङ्केत देखिएको छैन ।

राष्ट्रपति नयाँ निर्वाचन र बोलुआर्टेको राजीनामाको माग गर्दै भएका प्रदर्शनका क्रममा भएका झडपमा कम्तीमा ४२ जनाको मृत्यु भएको पुष्टि पेरूका मानव अधिकार आयुक्तले गरेका छन् ।

गत डिसेम्बर ७ मा पेड्रो क्यास्टिलोलाई महाभियोगबाट पदच्युत गरी पक्राउ गरेपछि बोलुआर्टेले दक्षिण अमेरिकी यो देशको पहिलो महिला राष्ट्रपतिको रूपमा पदभार ग्रहण गरेका थिए ।

वामपन्थी पूर्व ग्रामीण विद्यालयका शिक्षक तथा युनियनका नेता क्यास्टिलोले आफ्नो १८ महिनाको कार्यकालमा संसदमा चर्को विरोधको सामना गर्नुपरेको थियो भनेभने उनिविरूद्ध भ्रष्टाचारको आरोपबारे थुप्रै आपराधिक अनुसन्धानहरू शुरू भएका छन् ।

सरकारले लिमा, कुस्को, कालाओ र पुनो क्षेत्रमा शनिबार मध्यरातदेखि ३० दिनका लागि सङ्कटकालीन अवस्था थप गरेको छ ।

सङ्कटकालको घोषणाले आवागमन र भेला हुने स्वतन्त्रता जस्ता संवैधानिक अधिकारलाई पनि निलम्बन गरेको राजपत्रमा प्रकाशित आदेशमा उल्लेख छ ।

पेरुका २५ क्षेत्रमध्ये ११ क्षेत्रमा आइतबार १०० भन्दा बढी सडक अवरुद्ध भएका छन् ।

बोलिभियासँग सीमा जोडिएको जुलियाका शहरमा आइतबार लिमाको केन्द्रीय गिर्जाघरमा प्रदर्शनकारी र एक प्रहरीलाई जिउँदै जलाइएका प्रदर्शनकारीका लागि आयोजित सामूहिक प्रार्थना सभामा दर्जनौं मानिस सहभागी भएका थिए ।

शोक मनाइरहेका हरूमध्ये धेरैले शान्तिको प्रतीकको रूपमा सेतो टि–शर्ट लगाएका थिए र मरेकाहरूको फोटो बोकेका थिए ।

लिमाका धर्मगुरू कार्लोस क्यास्टिलोले स्पेनी र क्वेचुआ आदिवासी भाषामा सेवाको नेतृत्व गरेका छन् । यो अशान्ति मुख्यतया दक्षिणी एन्डीजमा केन्द्रित छ, जहाँ क्वेचुआ र आइमारा समुदायको बसोबास छ ।

मानव अधिकारसम्बन्धी अन्तर–अमेरिकी आयोगले सङ्कटको अन्त्यका लागि यी समूहहरूलाई पेरुको समाजमा अझ राम्रोसँग एकीकृत गर्न आवश्यक रहेको बताएका छन् ।

क्षेत्रीय प्रशासनका उपमन्त्री जोसे मुरोले आइतबार टिभी पेरुसँग कुरा गर्दै अनुत्तरित सामाजिक मागहरूबारे छलफल गर्न सरकारले देशव्यापी रूपमा ‘वार्ताका लागि ठाउँ’ सिर्जना गर्ने बताएका छन् ।

उनले भने, “हाम्रा दाजुभाइलाई भन्नुहोस् कि यो हप्ता हामी मागहरू पूरा गर्न वार्ताको लागि ठाउँहरू स्थापना गर्न चाहन्छौं ।

यसैबीच लिमाका साथै सीमान्तकृत दक्षिणी एन्डियन क्षेत्रमा सोमबारका लागि व्यापक प्रदर्शनको घोषणा गरिएको छ ।

शनिबार राति दर्जनौं प्रदर्शनकारी राजधानीको मिराफ्लोरेस जिल्लामा ‘शहरकब्जा’ को माग गर्दै प्रदर्शनमा उत्रिएका थिए ।

प्रसिद्ध माचू पिचु क्षेत्रको प्रवेशद्वार कुस्कोको विमानस्थल दुई दिन अघि बन्द भएपछि शनिबार पुनः खोलिएको थियो ।

पेरु वर्षौंदेखि राजनीतिक रूपमा अस्थिर छ र ६० वर्षीय बोलुआर्टे पाँच वर्षमा छैटौं राष्ट्रपति बनेको हो ।

क्यास्टिलोलाई विद्रोहलगायत अन्य अपराधको अभियोगमा १८ महिनाको हिरासतमा राखिएको छ ।

प्रदर्शनमा शाइनिङ पाथ कम्युनिस्ट गुरिल्ला समूहका अवशेषसहित कट्टरपन्थी समूहको हात रहेको अधिकारीहरूले दाबी गरेका छन् ।

यसको प्रमाणको रूपमा तिनीहरूले त्यस संगठनका पूर्व सदस्य कामरेड कुसी भनिने रोसियो लियान्ड्रोलाई यसै हप्ता पक्राउ गरेको थियो ।

प्रहरी प्रवक्ता जनरल ओस्कार एरिओलाका अनुसार लियान्ड्रोले अयाकुचो क्षेत्रमा एक दर्जनको ज्यान जाने गरी भएको हिंसामा आर्थिक सहयोग गरेको थियो । उनले लियान्ड्रोलाई ‘माक्र्सवादी, लेनिनवादी, माओवादी’ हत्यारा भएको दावी गरे । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot