काठमाडौं, ४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको शपथग्रहण गरेकै दिन बिनाविभागीय मन्त्रीको शपथ खाएका जनमत पार्टीका उपाध्यक्षसमेत रहेका सांसद् अब्दुल खान मन्त्रीको जिम्मेवारी पाउँदासमेत सिंहदरबार पसेका छैनन्।
उनलाई प्रधानमन्त्री प्रचण्डले पुष ११ गते बिनाविभागीय मन्त्रीको रुपमा शपथ खुवाए। हिजोमात्रै प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल विस्तार गर्दै सबै मन्त्रीलाई कार्यभारपनि तोकिदिएका थिए। सो क्रममा खानले खानेपानी मन्त्रीको जिम्मेवारी पाएका थिए।
हिजो शपथग्रहण गरी मन्त्रीभएका र पुष ११ गते बिनाविभागीय मन्त्रीको शपथ खाएका मन्त्रीहरुले सिंहदरबारमा हिजो कार्यभार सम्हाली विभिन्न निर्णय गर्दैगर्दा मन्त्री खान न कार्यभार सम्हाले न सिंहदरबार नै पसे।
मन्त्री खान र उनको पार्टी रोजेको उद्योग मन्त्रालय नपाएको भन्दै रुष्ट भएको हो। खानले आजपनि सिंहदरबारमा पदभार ग्रहण गर्न नजाने बताएका छन्। उनीनिकट स्रोतका अनुसार खान अहिले बालुवाटारमा रहेको र प्रधानमन्त्रीसँग छलफल गरेपछि एउटा निष्कर्ष आउने आशामा छन्।
खानले उद्योग मन्त्रालय नपाए सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने जनमत पार्टीले जनाएको छ।