Logo

रुसविरुद्ध युक्रेनलाई अमेरिका, बेलायत र डेनमार्कले थप हतियार दिने



एजेन्सी । अमेरिका र युरोपेली देशहरूले युक्रेनलाई थप हतियार आपूर्ति गर्ने बताएका छन्। यो आपूर्तिमा गोला–बारुदबाहेक युद्धमा काम आउने बख्तरबन्द गाडी पनि हुनेछन्।

समाचार एजेन्सी एएफपीको रिपोर्टका अनुसार रुस–युक्रेन युद्धको अर्को चरणमा किभलाई सहयोग गर्न आयोजित महत्त्वपूर्ण बैठकमा यो निर्णय गरिएको हो।

यसै सन्दर्भमा अमेरिकाले युक्रेनलाई सहयोग गर्न २.५ अर्ब डलर बराबरको सामग्री पठाउने घोषणा गरेको छ। बेलायतले युक्रेनलाई ६०० वटा ब्रिमस्टोन मिसाइल दिने बताएको छ।

डेनमार्कले युक्रेनलाई फ्रान्समा निर्मित १९ वटा सिजर होविट्जर र स्वीडेनले आर्चर आर्टिलरी सिस्टम दिने वाचा गरेको जनाएको छ। जर्मनीको रामस्टेनमा भएको ५० देशको बैठकपछि यो निर्णय गरिएको हो।

उक्त बैठकमा नेटोका ३० सदस्य राष्ट्रहरु पनि सहभागी थिए । रामस्टेनमा भएको बैठकमा रुसविरुद्ध युक्रेनलाई थप सहयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले जर्मनीमा भएको वार्ताका बारेमा कीभले ‘बलियो निर्णय’ र ‘बलियो सैन्य समर्थन’ को अपेक्षा गरेको बताए ।

तर अमेरिका र जर्मनीले युक्रेनबाट अत्याधुनिक ट्याङ्कको मागबारे कुनै निर्णय गरेका छैनन्।

यसबारेमा रुसले पश्चिमी देशहरूले युक्रेनलाई यो सहयोग गरे त्यसको गम्भीर परिणाम हुने चेतावनी दिएको छ।

जर्मनीले युक्रेनलाई भारी हतियार उपलब्ध गराउन सावधानी अपनाइरहेको छ। तर जर्मन चान्सलरमाथि युक्रेनलाई लेपर्ड ट्याङ्क दिन दबाब बढिरहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot