Logo

मेटमणिको ओलीलक्षित कटाक्ष– संविधानको कुतर्क गर्नेलाई कोचिङको व्यवस्था गरौं



काठमाडौं, ७ माघ । नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणी चौधरीले संविधानमा भएको व्यवस्थाको कुतर्क गर्नेलाई कोचिङ कक्षा सञ्चालन गर्नुपर्ने बताएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ कटाक्ष गर्दै संविधानको आफू अनुकूल व्याख्या गर्नेलाई कोचिङ कक्षाको व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

‘सम्भवत प्रतिनिधिसभामा कोचिङ कक्षाका लागि बजेटको व्यवस्था छैन होला । यदी बजेटको व्यवस्था छैन भने मैले आफूले प्राप्त गर्ने सेवा सुविधाबाट कट्टी हुनेगरी जो जो कुर्तक गरिरहेका छन् त्यस्ता ब्यक्तिलाई कक्षामा राखेर राम्रोसँग पढाउनका लागि म अनुरोध गर्न चाहन्छु,’ उनले भने।

जनताको बहुदलीय जनवाद, संवैधानिक सर्वोच्चता, कानुनी राज्य, आवधिक निर्वाचनको कुरा गरेपनि नेताहरुले आफूलाई नै सर्वोच्चतामा राख्ने गरेको उनको आरोप छ । अहिले नेपालको संविधान संकटमा रहेको दाबी गर्दै उनले संवैधानिक व्यवस्था ध्वस्त पार्नका लागि पूर्व प्रधानमन्त्री नै विरालोले मुसा ढुके जसरी बसको आरोप लगाए ।

‘आज पनि नेपालको संविधान संकटमा छ । यदि हामीले यसलाई करेक्सन गर्न सकेनौं भने लोकतान्त्रिक गणतन्त्रका लागि व्यवस्था भएको यो संविधान र व्यवस्था अन्तिम हुनसक्छ भन्ने मलाई लागेको छ । बाघले एकपटक मान्छेको शिकार गरेपछि फेरिपनि शिकारको लागि तयार भएको हुन्छ । बकुल्लाले माछा ढुकेको हुन्छ, विरालाले मुसा ढुकेको हुन्छ । अहिले पनि नेपालको संविधानलाई नष्ट गर्नका लागि नेपालको पूर्वप्रधानमन्त्री ढुकेर बस्नु भएको छ,’ उनले भने ।

साथै, प्रतिनिधिसभाको उपसभामुखमा कांग्रेसबाट उम्मेदवारी दिएकी मुक्ताकुमारी यादवको पक्षमा मतदान गर्न पनि उनले आग्रह गरे ।

 

 



प्रतिक्रिया दिनुहोस्