Logo

सुगम जिल्लाका तेह्रवटा वडा अझै अन्धकार



कावासोती, माघ १२ । सुगम जिल्लाका रूपमा परिचित भए पनि पूर्वी नवलपरासीका तीन गाउँपालिकाको १३ वडामा अझै राष्ट्रिय प्रसारणको बिजुली नपुग्दा स्थानीय अन्धकारमै दिन रात बिताउन बाध्य छन् ।

जिल्लाको तीन गाउँपालिका हुप्सेकोट, बुलिङटार र बौदीकालिका १३ वडा अझै पनि अन्धकारै रहेका छन् । यो वर्षभित्रै नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण पु-याउने काम दु्रत गतिमा अघि बढेको कावासोती विद्युत् प्राधिकरणका निमित्त प्रमुख निश्चल अधिकारीले बताए ।

राष्ट्रिय प्रसारणबाट विमुख हुँदा अन्धकारमै बस्नुपर्ने बाध्यताबाट यो वर्षबाट यहाँका ५० हजार जनता लाभान्वित हुने अधिकारीले बताए ।

हुप्सेकोट, बुलिङटार र बौदीकाली गाउँपालिकाका १३ वडाका ५० हजार जनता राष्ट्रिय विद्युत् पहुँचबाट पूरै विमुख छन् । स्थानीय जनकबहादुर रानाभाटले भने, “बुलिङटारमा बिजुली बाल्ने सपना धेरैले देखाए, चुनाव आउँछ, सबै दलको एउटै आश्वासन बिजुली बाल्ने र टुकीमा बसेर बिताएको जीवन अब उज्यालोमा बसेर बिताउने आश्वासन दिन्छन् ।”

यस्तो आश्वासन दिइएको ३० वर्ष पुग्यो । तर अझै पनि आश्वासन पूरा हुने लक्षण नदेखिएपछि बारम्बर दबाबबीच यो वर्षभित्र चाहिँ बिजुली बल्नेमा आशा पलाएको डाडाँझैरीका प्रेमसिंह लुङ्गेलीमगरले बताए ।

अहिले राष्ट्रिय प्रसारणको बिजुली पु(याउन बिजुलीको पोल गाड्ने काम भइरहेको छ, कतै ट्रान्समिटर जडानको काम पनि भइरहेको र अब चाँडै बिजुली बाल्ने र उज्यालो नवलपुर अभियान सफल पार्न काम अगाडि बढेको नेपाल विद्युत् प्राधिकरण कावासोतीका निमित्त प्रमुख अधिकारीले बताए । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot