Logo

कुनै दलविशेषको राष्ट्रपतिको औचित्य छैन– मुक्ति प्रधान



काठमाडौं, १५ माघ । नेकपा (माओवादी केन्द्र) का नेता एवं कानुनविद् मुक्ति प्रधानले नेपालको हित र संविधानप्रति प्रतिबद्ध रहेको व्यक्ति राष्ट्रपति बन्नु बन्नुपर्ने बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले विगतका राष्ट्रपतिहरु सक्रिय भूमिकामा आउन खोजेको र संविधानको बर्खिलापमा गएको भन्दै दल विशेषको राष्ट्रपतिको औचित्य नरहेको बताएका हुन् ।

‘हाम्रो पार्टीको स्थायी कमिटीमा राष्ट्रपतिका विषयमा छलफल चलिरहेको छ । यसबारे पार्टीले उपयुक्त निर्णय लिन्छ नै । मुख्य कुरा नेपालको हित र संविधानमा प्रतिबद्ध व्यक्ति नै राष्ट्रपति हुनुपर्छ । किनभने हामीले रामवरण यादव र विद्यादेवी भण्डारीको अनुभव लिइसकेका छौं । राष्ट्रपति सक्रिय हुन खोजेको, सरकार र संसदको बर्खिलाप जान खोजेको पनि देखियो । अहिले एमाले वा कुनै दलविशेषको राष्ट्रपतिको औचित्य छैन’, उनले भने ।

तपाईंको पार्टीले कांग्रेसलाई राष्ट्रपति दिन खोजेको हो भन्ने प्रश्नमा प्रधानले थपे, ‘नयाँ गठबन्धन बनेको छ । पुरानो गठबन्धनको कांग्रेसले विश्वासको मत दिएको छ । पद वा शक्तिका लागि राष्ट्रपति हुँदा देशले अझै दुःख पाउँछ । राष्ट्रपति नेपाली नै हुन्छ, तर पार्टीको गर्भबाट निस्केर उसैप्रति उत्तरदायी हुने खालको हुनुहुँदैन । भारतमा वैज्ञानिक, महिला, राजनीतिक स्वार्थमा नलागेको मानिस भएजस्तै स्थिति सिर्जना गर्न सकिन्छ । मुख्य कुरा माओवादीले जनताको भावनालाई पनि ध्यानमा राख्छ ।

साथै, फरक प्रसंगमा प्रधानले रबि लामिछानेको नागरिकता प्रकरणमा अदालतको फैसाल स्वागतयोग्य रहेको दाबी गरे । ‘यो कानुनी शासन हो । कानुन र संविधान अक्षरशः हेरेर फैसला आएको छ । यो स्वागतयोग्य छ,’ उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot