Logo

रविको बहानामा एमालेसँग टाढिने प्रचण्डको चाहना, बाबुरामलाई राष्ट्रपति बनाउने तयारी



काठमाडौं, १६ माघ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल एमालेसँग टाढिन खोजेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्रालय नदिने प्रचण्डको अडानले एमाले असन्तुष्ट बनेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहालसँगको भेटमा गृहमन्त्रालयको नेतृत्व रवि लामिछानेलाई नै दिन दबाब दिएको खुलासा भएको छ ।

तर, प्रधानमन्त्री दाहालले भने गृहमन्त्रालय आफ्नै दलमा राख्ने अडान लिएका छन् । रवि लामिछानेको नागरिकतासम्बन्धी परेको मुद्दामा सर्वोच्च अदालतले लामिछानेको सांसद र मन्त्री पद खारेज गरिदिएको थियो । त्यही मौका छोपेर प्रचण्डले अहिलेको गठबन्धनबाट एमाले र रास्वपासँग दूरी बढाउने रणनीति अख्तियार गरेका छन् । त्यसको लागि उनले गृहमन्त्रालय कुनैपनि हालतमा रास्वपालाई नदिने अडान लिएका छन् ।

प्रधानमन्त्री दाहाल राष्ट्रपतिको निर्वाचनसम्म पुग्दा अहिलेको गठबन्धन भत्काएर कांग्रेससम्मिलित नयाँ गठबन्धन बनाउन चाहन्छन् । राष्ट्रपति कुनैपनि हालतमा एमालेलाई नदिन उनीमाथि पार्टीभित्रैबाट दबाब पनि छ । उनी भने आफ्ना पूर्व सहकर्मी डा. बाबुराम भट्टराईलाई राष्ट्रपति बनाउन चाहन्छन् । बाबुरामलाई कांग्रेसले पनि सहयोग गर्ने बुझिएको छ। रास्वपाले भने गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । आज बेलुकासम्म रास्वपाले यसबारे निर्णय गर्ने सो दलका नेताहरुको टिप्पणी छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot