Logo

अबको राष्ट्रपति मधेसी हुनुपर्छ, महन्थ ठाकुर सबैभन्दा उपयुक्त हुनुहुन्छः लोसपा नेता



काठमाडौं, २४ माघ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता केशव झाले वर्तमान सत्ता गठबन्धनभित्रै नेकपा एमालेलाई राष्ट्रपति नदिने परिस्थिति बनेको दाबी गरेका छन् ।
‘कांग्रेसले एमालेको राष्ट्रपति र एमालेले कांग्रेसको राष्ट्रपति मान्ने देखिँदैन । सत्ता गठबन्धनमै पनि दरार छ । यस्तो अवस्थामा सभामुख र प्रधानमन्त्री खस आर्य भएपछि अब राष्ट्रपति मधेसी हुनुपर्छ । यसले क्लस्टरको शक्ति सन्तुलन हुन्छ भन्ने हाम्रो विश्वास छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै झाले भने ।
लोसपा नेता झाले मधेसीमा पनि पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन लबिङ भइरहेको बताए । उनले थपे, ‘अहिलेसम्म हाम्रो भोट मात्र लिने काम भयो, अब हाम्रा उम्मेदवारलाई नै कांग्रेस, एमाले र माओवादीले सघाउनुपर्ने अवस्था छ । हाम्रो अध्यक्षजी पाका र शालीन हुनुहुन्छ । उहाँको सर्वसम्मति हुन सक्छ । यसमा कतिपय दल सकारात्मक पनि देखिएका छन् ।’
उनले लोसपा तत्काल सरकारमा सहभागी नहुने औंल्याए । उनले भने, ‘अहिले हामीले सरकारमा जाने कुरा गरेका छैनौं । तर सरकारलाई हाम्रो समर्थन छँदै छ । हामी प्रतिपक्षको भूमिका नै निर्वाह गर्छाैं ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बोलीमा पटक्कै संयम नदेखिएको पनि झाले बताए । उनले भने, ‘नयाँ नेताले केही गर्लान् भन्ने विश्वासका साथ जनताले रास्वपालाई मत दिएका दिए । तर त्यसका सभापति रवि लामिछानेले एकदमै आत्मकेन्द्रित भएर स्वार्थको राजनीति गरेको देखियो । अस्तिको पत्रकार सम्मेलनमा जुन आक्रोश र आवेग पोखिएको छ, त्यसमा पटक्कै संयम देखिएन ।’
रविले न्यूनतम राजनीतिक चरित्र पनि देखाउन नसकेको आरोप उनले लगाए । झाले थपे, ‘विपरीत परिस्थितिमा नै मानिसको विवेकको परीक्षा हुन्छ । त्यो एकदमै अनुचित हो । आफू मिडियाकर्मी हुँदा नेताहरुप्रति आगो ओकल्नुभयो, अहिले आफू नेता भएपछि मिडियाप्रति आगो ओकल्नुभयो । उहाँ आफैं गल्ती गरिरहनुभएको छ, न न्यूनतम राजनीतिक धर्म निर्वाह गर्नुभयो, व्यक्ति र मिडियाको नामै लिएपछि उहाँको राजनीतिक चरित्र उदांगिएको छ । यसलाई विवेकपूर्ण मान्न सकिन्न ।’



प्रतिक्रिया दिनुहोस्