Logo

चूडामणि शर्माविरुद्धका भ्रष्टाचार मुद्दामा साक्षी बकपत्र हुने



काठमाडौं, माघ २५ ।  विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माको मुद्दामा साक्षी बुझ्ने आदेश गरेको छ। विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश श्रीकान्त पौडेल, न्यायाधीशहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले मंगलबार साक्षीहरूसँग बुझ्ने आदेश दिएको हो।

शर्माविरुद्ध विशेष अदालतमा दायर तीनवटा छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश भएको हो। विशेष अदालतले यही शुक्रबार साक्षीहरूसँग बकपत्र लिने मितिसमेत तोकेको छ। २०७८ असोजमा विशेष अदालतको आदेशअनुसार शर्मालगायतका प्रतिवादी धरौटी राखेर थुनामुक्त भएका थिए। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १ अर्ब रूपैयाँ बढीको मागदाबी गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले थुनाबाहिर बसेर मुद्दा लड्न शर्मासहित तीनजनाले जनही ५० लाख धरौटी बुझाउनुपर्ने आदेश गरेको थियो। विशेष अदालतले मागेको धरौटी बुझाएर प्रतिवादी थुनामुक्त भएका हुन्।

कर फछ्र्योट आयोग–२०७१ का पदाधिकारी तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र शर्माविरुद्ध अख्तियारले २०७८ असार ९ गते भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। अख्तियारले १ अर्ब ३३ लाख २० हजार ३ सय ८५ रूपैयाँ माग दाबीसहित भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। माग भएको धरौटी नगद वा बैंक जमानत दिन सके तारेखमा राख्ने र धरौटी दिन नसके मुलुकी फौजदारी कार्यविधि संहिताअनुसार थुनामा जानुपर्ने कानुनी व्यवस्था छ।

महत, ढकाल र शर्माले २०७१ माघ २२ गते नेपाल राजपत्रमा प्रकाशित सूचित आदेश र कर फछ्र्योट आयोग ऐन, २०३३ ले दिएको अधिकार क्षेत्रभन्दा बाहिर गई बदनियतपूर्वक रकम चुहावट गरी भ्रष्टाचार गरेको अख्तियारले दर्ता गरेको आरोपपत्रमा उल्लेख छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्