काठमाडौं, फागुन १। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध महान् र युगान्तकारी भएको बताएका छन्। २८ औँ जनयुद्ध दिवसको अवसरमा शुभकामनामा दिदै उनले सो कुरा बताएका हुन् ।
उनले २०५२ फागुन १ गतेबाट सुरू गरिएको महान् जनयुद्धको २८ औँ वार्षिकोत्सवको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीहरू एवं विश्वभरिका परिवर्तनप्रेमी जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दै भनेका छन्,, ‘‘यस ऐतिहासिक दिनमा देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति आफ्नो अमूल्य जीवनको बलिदान गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु, सम्पूर्ण बेपत्ता योद्धाहरूको स्मरण गर्दै उच्च सम्मान व्यक्त गर्दछु, घाइते र अपाङ्ग योद्धाहरूमा स्वास्थ्यलाभको शुभेच्छासहित दीर्घजीवनको कामना गर्दछु।’’
नेपाली धर्तीमा सञ्चालित जनयुद्ध महान् र युगान्तकारी थियो भन्दै प्रधानमन्त्रीले साहस, वीरता र उत्सर्गको त्यो ऐतिहासिक क्रान्तिले राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, देशप्रेम एवम् राष्टियताप्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात गरेको जारी संदेशमा उल्लेख छ ।
शुभकामना सन्देशमा भनिएको छ, ‘‘वर्ग, जाति, लिंग, क्षेत्रमा विद्यमान असमानता, शोषण, उत्पीडन, विभेद र अन्यायका पर्खालहरू भत्काएर मुक्ति, परिवर्तन, स्वतन्त्रताको भावधारा प्रवाहित गर्न सफल जनयुद्धको परिणामस्वरूप उपेक्षित, उत्पीडित वर्ग र बस्तीमा उज्यालो राजनीतिक चेतना प्रवाहित भएको छ।’’
महान् जनयुद्धको जगमा ऐतिहासिक जनआन्दोलनको संयोजनबाट देशमा सामन्ती राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको र समावेशी लोकतन्त्र संस्थागत भएको उनले उल्लेख गरेका छन् ।
मधेसी, मुस्लिम, महिला, दलित, आदिवासी, जनजाति, थारू समुदाय लगायत उत्पीडित वर्ग, जाति, लिंग, क्षेत्र र समुदायमा उच्च राजनीतिक जागरणसहित उनीहरूको पहिचान र अधिकार स्थापित भएको कुरा पनि प्रधानमन्त्रीको सन्देशमा समावेश छ ।
जनयुद्धकै जगमा सामाजिक न्यायको उन्नत व्यवस्थासहित समाजवादोन्मुख संविधानको निर्माण र कार्यान्वयन सम्भव भएको उल्लेख गर्दै प्रधानमन्त्रीको शुभकामना सन्देशमा युग परिवर्तनको प्रतिनिधित्व गर्ने जनयुद्ध आफैमा ऐतिहासिक र गौरवशाली थियो भन्ने तथ्य प्रमाणित भएको सार्जजनिक संदेशमा भनिएको छ ।
नयाँ सरकार राष्ट्रिय सहमतिसहित सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर अगाडि बढिरहेको छ ।
यही यथार्थलाई दृष्टिगत गरी सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसका रूपमा मनाउँदै सार्वजनिक विदा दिने निर्णय गरेको प्रधानमन्त्रीले संदेशमा उल्लेख गरेका छन् ।