काठमाडौँ,३ फागुन । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले यही फागुन १ गते काठमाडौँको बालाजुमा भएको चोरी र लुटपाटको घटनाको यथार्थ छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभा बैठकको आजको शून्य समयमा बोल्दै उनिहरुले चुस्त सुरक्षाको व्यवस्था गर्नसमेत सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा सांसद सूर्य थापाले बालाजुमा भएको घटनाको यथार्थ विवरण संसद्लाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए । उनले काठमाडौँको मुटुमा भएको उक्त घटनाका बारेमा सरकार मौन बस्न नमिल्ने बताए ।
सांसद विराजभक्त श्रेष्ठले काठमाडौँको गोँगबु बसपार्कमा भएको अमानवीय लुटपाटको घटनाका दोषीलाई कडा कारबाही गर्दै पीडितलाई क्षतिपूर्ति दिन आग्रह गरे । सांसद शिशिर खनालले मजदुर आन्दोलनको नाममा गोँगबु बसपार्कमा भएको लुटपाटमा संलग्न व्यक्तिहरुलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद शङ्कर भण्डारीले गत फागुन १ गते गोँगबु बासपार्कमा व्यवसायीका सामान लुटपाटमा संलग्नलाई पक्राउ गरी दोषीलाई कारबाही गरेर पीडितलाई क्षतिपूर्ति दिन माग गरे । सांसद ज्ञानबहादुर शाहीले काठमाडौँको गोँगबुको घटनाका बारेमा अवगत गराउँदै तत्काल चुस्त सुरक्षाको व्यवस्था प्रत्याभूत गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद ज्ञानु बस्नेत सुवेदीले किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाएकोप्रति आवश्यक व्यवस्था गर्न माग गरिन् । सांसद बनिताकुमारी सिंहले मधेसवासीको सुविधाका लागि निर्माण गरिएको हुलाकी राजमार्ग निर्माणमा ढिलाइ भएकोप्रति सरकारको ध्यानाकर्षण गराए । सांसद विश्वप्रकाश शर्माले दैनिक आत्महत्या गर्ने क्रम वृद्धि हुँदै गएको हुँदा मानसिक समस्यालाई सम्बोधन गर्न र झन्झटिलो प्रशासनिक सेवालाई चुस्त बनाउनुपर्ने माग गरे ।
सांसद शक्तिबहादुर बस्नेतले संविधानले आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने भनिएता पनि निःशुल्क पाइने भनिएका औषधि सरकारी अस्पतालबाट नपाएको हुनाले तत्काल व्यवस्था गर्न माग गरे । सांसद शोभा ज्ञवालीले बर्दियामा बनेको पुल केही समयमै बिग्रिएको जानकारी गराउँदै तत्काल निर्माणका लागि सरकारको ध्यानाकर्षण गराइन्।
सांसद सरस्वती सुब्बाले काठमाडौँ सुकुम्वासीलाई हटाउनुअघि उनीहरुको आवासको हकको सुनिश्चित गर्न माग गरिन् । सांसद सरिता प्रसाईले किसानले अतिआवश्यक पर्ने मल र बीउ समयमा नपाएको अवस्था भएको हुनाले किसानको समस्याप्रति ध्यान दिन सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद सरिता भुसालले नवलपरासीका उखु किसानलाई लामो समयदेखि रकम भुक्तानी नगरिइएको जानकारी गराउँदै उक्त किसानलाई तत्काल भुक्तानी गर्न माग गरिन् । सांसद शान्ति चौधरीले बर्दिया, कैलाली, कञ्चनपुरमा सोनाहा जातिलाई आदिवासी र अल्पसङ्ख्यक जातिमा सूचीकृत गर्न माग गरिन् ।
सांसद सुमना श्रेष्ठले जनगणना भएको महिनौँ बितिसक्दा पनि त्यसको पूर्ण प्रतिवेदन सार्वजनिक नभएको हुँदा सरकारी नीति निर्माणमा कठिनाइ भएको भन्दै तत्काल सार्वजनिक गर्न माग गरिन् ।
सांसद सुरेन्द्रराज आचार्यले कपिलवस्तुमा छाडा गाईगोरुका कारण कृषकलाई समस्या परेको जनाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराए । सांसद सोबिता गौतमले सुलभ कर्जा नपाउँदा धेरै मानिसलाई समस्या परेको हुनाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिइन् ।
सांसद हितराज पाण्डेले शान्ति प्रक्रियाका बाँकी रहेका काम अविलम्ब सम्पन्न गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। सांसद हेमराज राईले जनताको आर्थिक अवस्था सुधार गर्न प्राथमिकता दिन आग्रह गरे ।
यसैगरी सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीको बराह मन्दिर क्षेत्रमा नदी कटानले समस्या हुँदै गएको जनाउँदै यसको संरक्षणको माग गरे। सांसद सन्तोष चालिसेले शिवपुरी आरक्ष क्षेत्र भई गाउँबस्ती प्रवेश गर्दा शुल्क तिर्नुपर्ने अवस्थालाई हटाउन माग गरे। रासस