Logo

कांग्रेस नेता भण्डारीलाई श्री एयरलाइन्सको जहाजबाट मुम्बई लगिदैँ, उपचार खर्च सरकारले व्यहोर्ने



काठमाडौं, फागुन ४ । ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद् डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत मुम्बईस्थित नेशनल वर्न अस्पताल लगिने भएको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भण्डारीलाई उपचारका लागि श्री एयरलाइन्सको जहाजबाट बिहीबार नै मुम्बई लाने तयारी भएको बताएका छन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले पनि भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लैजाने तयारी भएको जानकारी दिएका छन्।

मन्त्री गिरी भण्डारीलाई भेट्न कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन्। उनले सरकारले सबै उपचार खर्च व्यहोर्ने गरी भण्डारीलाई मुम्बई लाने तयारी भएको बताएका छन्।

यसैबीच भण्डारीकी आमा ८९ वर्षीया हरिकलाको भने आज विहान निधन भएको छ। अस्पतालले एक विज्ञप्ति जारी गर्दै सांसद भण्डारीको शरीरको करिव २५–३० प्रतिशत भाग जलेकाले फोक्सो र श्वासनलीमा पनि असर देखिन सक्ने जनाउदै थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लैजान सुझाएको छ।

विस्फोटमा परी घाईते भएकी भण्डारीकी ८६ वर्षीय आमा हरिकलाको निधन भईसकेको छ । ७० प्रतिशत शरीर जलेकी भण्डारीको सघन कक्षामा उपचारका क्रममा आज विहान निधन भएको हो ।

भण्डारी काठमाडौं बुद्धनगरस्थित घरमा बुधबार राति करिब साढे नौ बजे पुगेका थिए। घर पुगेको केही समयमा नै विस्फोट भएको थियो। आमा भान्सामा गएको बेला विस्फोट भएको र आमालाई बचाउन जाँदा भण्डारी पनि घाइते भएको बुझिएको छ। सांसद भण्डारीको अनुहार, दुबै हात र गोडामा आगोले पोलेको अस्पतालले जनाएको छ ।

राती एक्कासी ठूलो आवाजसहित विस्फोट भएर आमाछोरा जलेको देखेपछि माथिल्लो तलामा बस्ने उनका भाई र अन्य छिमेकीले उद्धार गरी आमा छोरालाई अस्पताल पु¥याएका थिए । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेता भण्डारी गुल्मी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot