Logo

चिनियाँ राजदूत बालुवाटारबाट बाहिरिएलगत्तै ओलीको ‘इन्ट्रि’, होला राष्ट्रपतिमा ठोस सहमति ?



काठमाडौं, फागुन १० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता सुरु भएको छ । राष्ट्रपति निर्वाचनको उम्मेदवारबारे छलफल गर्न एमाले अध्यक्ष ओली बालुवाटार पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

निर्वाचनको मिति नजिकिंदै गर्दा दलहरु राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने प्रयासमा रहेका बेला एमाले अध्यक्ष ओली बालुवाटार पुगेका हुन् । सरकारले २६ पुसमा विश्वासको मत लिएदेखि हालसम्म प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच १२ पटक भन्दा बढी भेटवार्ता भईसकेको छ । तर, भेटमा प्रमुख एजेन्डा रहेको राष्ट्रपतिमा सहमति खोज्ने प्रयासमा भने ठोस प्रगति हुन सकेको छैन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिदै छ । नयाँ राष्ट्रपति चुन्न फागुन २५ गते निर्वाचनको मिति तोकिएको छ । । त्यसका लागि फागुन १३ गते मनोनयन दर्ताको कार्यक्रम छ । निर्वाचनको तयारी जारी राखेको निर्वाचन आयोगले आजै मतदाता नामावली सार्वजनिक गर्ने कार्यतालिका रहेको छ ।

आजै मात्र नेपालका लागि चिनियाँ राजदूत छन सोङ र प्रधानमन्त्री ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार चिनियाँ राजदूत छन सोङ केहिबेर अघि बालुवाटारबाट बाहिरिएलगत्तै प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटार प्रवेश गरेका हुन् ।

राष्ट्रपतिको मनोनयन दर्ता हुने समय नजिकिदै गर्दा राजदूत सङको भेटवार्तालाई चासोका साथ हेरिएको छ । अहिले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा राष्ट्रपति निर्वाचनको उम्मेदवारबारे छलफल भइरहेको छ ।

केन्द्रीय सरकारदेखि प्रदेश सरकारसम्म र सभामुख र उपसभामुखमा सहमति कायम गरेर अगाडि बढेका प्रचण्ड–ओली भावी राष्ट्रपतिको विषयमा भने एक ठाउँ आइसकेका छैनन् । बरु, राष्ट्रपति कसलाई बनाउने भन्नेमा प्रचण्ड र ओलीका आ–आफ्नै अडानमा छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot