Logo

माओवादी महासचिव भन्छन्– मिल्दै मिलेन भने त हाम्रो के लाग्यो र !



काठमाडौं, ११ फागुन । नेकपा (माओवादी केन्द्र) का महासचिव एवं पूर्वमन्त्री देवप्रसाद गुरुङले नेपाली कांग्रेस र आफ्नो पार्टीबीच गठबन्धन बनाउने कुरा निष्कर्षमा नपुगेको बताएका छन् ।
‘राष्ट्रपति निर्वाचन यो वा त्यो गठबन्धनको विषयभन्दा पनि साझा मान्यताको प्रश्न हो । गठबन्धन सरकारसँग जोडिएको विषय हो । राष्ट्रपति निर्वाचन राष्ट्रियता र संविधानसँग जोडिएको विषय हो । राष्ट्रपति निर्वाचन र सरकारको प्रश्न पृथक हो । दुवैलाई एकै ठाउँमा जोड्नु उपयुक्त हुँदैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
नेता गुरुङले कांग्रेस र एमाले दुवैलाई मिलिजुली सरकार बनाउन आग्रह गरिरहेको पनि बताए । उनले थपे, ‘हाम्रो प्रयास कांग्रेस र एमाले दुवै घटकलाई मिलाउने हो । तर कांग्रेस बाहिर भए एमाले रहने, एमाले रहे कांग्रेस बाहिर जाने स्थिति भयो । राष्ट्रपति निर्वाचनका सन्दर्भमा राष्ट्रिय सहमति जुटाउनका लागि हाम्रो अधिकतम प्रयास हुन्छ । सम्भव हुँदासम्म हामी मिलाउने हो । मिल्दै मिलेन भने त के लाग्यो र !’
राष्ट्रपतिका सम्भावित व्यक्ति वा पात्रप्रति आफ्नो पार्टीको कुनै आग्रह वा पूर्वाग्रह नभएको उनले औंल्याए । गुरुङले थपे, ‘हामी आपसी समझदारीका साथ जानुपर्छ भन्ने हो । यसमा एउटा वा दुइटा दल, सत्तापक्ष वा विपक्ष, बहुमत वा अल्पमत भनेर विवाद खडा गर्न मिल्दैन ।’ राष्ट्रपति निर्वाचन नयाँ वा पुरानो गठबन्धनको विषय नभएको उनले दोहोर्‍याए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot