Logo

राष्ट्रपति निर्वाचन– यस्ता छन् कांग्रेस कार्यसम्पादन समितिको पाँच निर्णयहरु



काठमाडौं,१३ फागुन । नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनको उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेललाई बनाउने भएको छ । पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा आज (शनिबार) बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

साथै, चितवन २ मा हुने उपनिर्वाचनको उम्मेदवार चयन गर्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले उनलाई सांसद पदमा रहन योग्य नरहेको फैसला गरेपछि चितवन २ मा उप निर्वाचन हुन लागेको हो ।

यस्तो छ, कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका निर्णयहरु

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा आज बस्यो । महामन्त्री श्री विश्वप्रकाश शर्माले बैठकमा प्रस्तावहरु प्रस्तुत गर्नु भएको थियो । बैठकले देहाय बमोजिमको निर्णय गरेको छ ।

निर्णयहरुः
१. नेपालको संविधानको धारा ६२ बमोजिम २०७९ फागुन २५ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि हुने निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट पार्टीका पूर्व कार्यवाहक सभापति, पूर्व सभामुख श्री रामचन्द्र पौडेललाई उम्मेदवार प्रस्तुत गर्ने निर्णय यो बैठक गर्दछ ।

२. नेपालको संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि नेपाली कांग्रेसद्वारा प्रस्तावित उम्मेदवारलाई विजयी गराउन यो बैठक सबै राजनैतिक दल एवं प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सबै माननीय सदस्यहरुमा हार्दिक अनुरोध गर्दछ ।

३. संवत् २०८० वैशाख १० आइतबार चितवन जिल्ला निर्वाचन क्षेत्र नं। २ मा हुने प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनका लागि नेपाली कांग्रेसलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय यो बैठक गर्दछ ।

४. उक्त उप–निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति श्री शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय यो बैठक गर्दछ ।

५. उक्त उप–निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ बमोजिम निर्वाचन आयोगमा नेपाली कांग्रेस दल दर्ता सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव श्री कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने निर्णय यो बैठक गर्दछ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot