Logo

राष्ट्रपति चुन्न पुरानै मतभार



काठमाडौं, फागुन १४ । निर्वाचन आयोगले २०७४ सालको राष्ट्रपति निर्वाचनको मतभारलाई नै आधार मानेर २५ फागुनमा हुने राष्ट्रपति निर्वाचन सम्पन्न गर्ने भएको छ । २०७४ सालमा संघीय संसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ कायम थियो ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको अनुसूचीअनुसार देशको कुल जनसंख्यालाई संघीय सांसदको कुल संख्याले भाग गर्दा आउने भागफललाई १ हजारले भाग गर्दा जुन नम्बर आउँछ, त्यो नै एक संघीय सांसदको मतभार हुन्छ । प्रदेशसभा सदस्यको मतभार पनि यही प्रक्रियाबाट तय हुन्छ । आयोगले पछिल्लो २०७८ मा सम्पन्न जनगणनाको अन्तिम विवरण औपचारिकरूपमा सार्वजनिक नभएकाले पुरानै मतभारबाट राष्ट्रपति निर्वाचन गर्न लागेको हो ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०६८ सालको जनसंख्यालाई आधार मानेर २०७४ को राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय संसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ कायम गरिएको तर अहिले २०७८ मा सम्पन्न जनगणनाको आधिकारिक तथ्यांक सार्वजनिक नभइसकेका कारण पुरानै मतभारमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन गर्नुपर्ने अवस्था आएको बताए ।

‘२०६८ को जनसंख्यालाई आधार मानेर २०७४ को राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय संसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ कायम गरिएको थियो, अहिले २०७८ मा सम्पन्न जनगणनाको आधिकारिक तथ्यांक सार्वजनिक भएको छैन । त्यसैले आयोगले पुरानै मतभारमा निर्वाचन गर्ने गरी तयारी गरेको हो,’ प्रमुख आयुक्त थपलियाले भने ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले २५ फागुनमा राष्ट्रपतिको निर्वाचन सम्पन्न भएपछि उपराष्ट्रपति पदको निर्वाचन प्रक्रिया सुरु हुने जानकारी दिए । उनका अनुसार उपराष्ट्रपतिको निर्वाचन भने ३ चैत्रमा हुनेछ ।

आयोगले राष्ट्रपति र उपराष्ट्रपति चयन गर्ने प्रक्रियाका लागि काठमाडौंमा नै मतदान गरिने जनाएको छ । राष्ट्रपति निर्वाचनमा ८८२ मतदाता कायम भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार मतदाताको अन्तिम नामावली प्रकाशन गरेको थियो । जसअनुसार प्रदेशसभाका ५५० सदस्य र संघीय संसदका ३३२ गरी ८८२ जना मतदाता कायम भएका हुन् ।

आयोगले राष्ट्रपतिको निर्वाचनका लागि सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार शनिबार उम्मेदवारको मनोनयन दर्ता भइसकको छ । आयोगले मनोनयन पत्र दर्ता गरेका उम्मेदवारको सूचीसमेत शनिबार नै प्रकाशित गरिसकेको छ ।

आयोगका अनुसार आज उम्मेदवारविरुद्ध उजुरी दिने समय निर्धारण गरिएको छ । आयोगले उम्मेदवारको मनोनयन र उजुरीउपर छानबिन गरी १४ र १५ फागुनमा निर्णय गर्ने छ भने १५ फागुनकै दिनमा साँझ उम्मेदवारको नामावली प्रकाशित हुनेछ । आयोगले उम्मेदवारले नाम फिर्ता लिन चाहेमा १६ फागुनमा फिर्ता गर्न समय निर्धारण गरेको छ भने १६ फागुनमा उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ र २५ फागुनमा राष्ट्रपति चुन्न निर्वाचन हुनेछ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot