Logo

राप्रपाले राष्ट्रपति निर्वाचनमा भाग लिनुहुन्नः महामन्त्री राणा



काठमाडौं, १४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं सांसद धवलशमशेर राणाले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीले भोट हाल्न नहुने बताएका छन् ।

‘राष्ट्रपतिको निर्वाचनमा भाग लिने वा नलिने बारेमा हाम्रो पार्टीले कुनै निर्णय गरेको छैन । व्यक्तिगत रुपमा म संवैधानिक राजसंस्थाको पक्षमा छु । पार्टीभित्र राष्ट्रपति निर्वाचनमा भाग लिनुहुन्न, तटस्थ बस्नुपर्छ भन्ने मत राखेको छु । पार्टी कमिटीले भाग लिने निर्णय गरेको स्थितिमा नोट अफ डिसेन्ट लेखेर भोट हालौंला,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै राणाले भने ।

राप्रपा एक महिनामै सरकारबाट किन बाहिरिनुभयो भन्ने प्रश्नमा राप्रपा महामन्त्री राणाले भने, ‘हाम्रा नेतागण अस्थिरता र व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न सकेनन् । यस्तो फोहोरी खेलमा राप्रपा सामेल हुन सक्दैन भनेर सरकारबाट पछि हटेर समर्थन फिर्ता लियौं ।’

उनले सरकारमा जाने निर्णय राजेन्द्र लिङ्देनको गल्ती नभएको पनि बताए । राणाले थपे, ‘पार्टीको कमिटीले नै सोचेर सम्झेर सामूहिक निर्णय लिएको हो नि । देशलाई केही माथि उठाउन सकिन्छ भनेर सरकारमा गएका हौं । त्यो प्रयत्न असफल हुने देखेर हामी सरकारबाट बाहिरियौं र समर्थन पनि फिर्ता लियौं ।’

राप्रपाका मन्त्रीहरुलाई बर्खास्त गर्न लागेकाले सरकारबाट नहटेको दाबी पनि उनले गरे । राणाले भने, ‘यो व्यवस्था र संघीयताका विरोधी त हामी हुँदै हौं । यो व्यवस्था हाम्रो देशका लागि फलिफाप हुँदैन भन्ने हामीलाई थाहा छ । हाम्रा मन्त्रीहरुलाई बर्खास्त गर्ने कुरा आएको थिएन । बरु सरकारमा रहिरहनुस् भनिएको थियो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot