काठमाडौं, फागुन १५ । नेकपा (एमाले)का सचिव एवं सांसद रघुवीर महासेठले सत्ता गठबन्धन अैपचारिक रूपमा नटुटेको बताएका छन् ।
‘प्रचण्डजी अस्थिर हुनुहुन्छ, दोहोरो चरित्र देखाउनुहुन्छ । उहाँले एमालेसँग गठबन्धन टुट्यो भन्न सकिरहनुभएको छैन । उहाँले टुट्यो भन्दिनु भयो भने हामीलाई सजिलो हुन्थ्यो । उहाँ केटाकेटी त होइन नि’, रेडियो एनआरएनको कार्यक्रम रेडियो बहसका लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै महासेठले भने ।
एमालेलाई सत्तामा टाँसिएर बस्ने चाहना नभएको पनि उनले औल्याए । महासेठले भने, ‘गठबन्धन अफिसियल्लि टुटेको छैन । अनअफिसियल्लि टुटेको जस्तो देखिएको मात्र हो । हामी सत्तामा टाँसिएर बस्ने पक्षमा छैनौं । हामी छलफल गर्दैछौं ।’
एमाले नेता महासेठले बाह्य शक्तिको दबाबका कारण प्रचण्ड पुरानो गठबन्धनमा फर्कन बाध्य भएको आरोप पनि लगाए । उनले भने, ‘प्रचण्डजी सत्ताबाहिर बस्न सक्नुहुन्न । उहाँको त्यही कमजोरीका कारण बाह्य शक्ति हौंसियो र गठबन्धन भत्काउन लाग्नुभयो । राष्ट्रपति निर्वाचनपछि उहाँले थाहा पाउनुहुन्छ ।’