Logo

कांग्रेसले रामचन्द्र पौडेललाई जिताउन कुन प्रदेशमा क–कसलाई खटायो ?



काठमाडौं, फागुन १८ । नेपाली कांग्रेसले राष्ट्रपतिका उम्मेदवार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताउन सातवटै प्रदेशमा पार्टीका केन्द्रीय नेता खटाएको छ । फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा पौडेललाई विजयी गराउन कांग्रेसले केन्द्रबाटै पदाधिकारीलाई खटाएको हो ।

बुधबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको शीर्ष नेताको बैठकले गठबन्धनको कार्यक्रमलाई नेतृत्व गर्न पदाधिकारीलाई जिम्मेवारी दिइएको थियो । सोही अनुसार कोशी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेस प्रदेशमा सहमहामन्त्री फरमुल्लाहा मन्सुरले जिम्मेवारी पाएका छन् ।

त्यस्तैगरी बागमती प्रदेशमा महामन्त्री गगन थापा र गण्डकी प्रदेशमा उपसभापति धनराज गुरुङलाई कार्यक्रमको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ भने लुम्बिनी प्रदेशमा सहमहामन्त्री किशोरसिंह राठोर, कर्णाली प्रदेशमा उपसभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिम प्रदेशमा सहमहामन्त्री बद्री पाण्डेलाई खटाईएको छ ।

फागुन १९ गते हुने प्रदेशस्तरीय भेलामा प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य समेतको सहभागिता रहनेछ । निर्वाचनका लागि संघीय संसदमा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कुल ८८२ मतदाता छन् ।
राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै राजधानीमा आज सन्दर्भमा आठ दलीय गठबन्धनले सांसदहरुको अभिमुखीकरण कार्यक्रम गर्दैछ ।

कांग्रेसले आज राष्ट्रपतिको उम्मेदवार बनेका रामचन्द्र पौडेललाई समर्थन गरेका सांसदहरुलाई प्रशिक्षण दिन लागेको हो । आठ वटै दलका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरु प्रशिक्षणमा सहभागी हुनेछन् । काठमाडौंको तीनकुनेस्थित रोयल व्यांक्वेटमा आज दिउँसो १ बजेदेखि अभिमुखीकरण कार्यक्रम हुदैछ । पार्टीका शीर्ष नेताहरुले सांसदहरुलाई प्रशिक्षण दिदैछन् ।



प्रतिक्रिया दिनुहोस्