Logo

राष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु, आजबाट के-के गर्न पाइँदैन?



काठमाडौं, फागुन २३ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि सोमबार मध्यरातदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार मौन अवधिमा राष्ट्रपति निर्वाचनका लागि प्रचारप्रसार लगायतका कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ ।

आयोगले राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आचारसंहिता जारी गरेको थियो । उक्त आचारसंहिता २०७९ भदौ १३ गतेको नेपाल राजपत्र खण्ड ९७२, संख्या ३२० मा प्रकाशन भइसकेको छ । गत मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि पनि सोही आचारसंहिता लागू भएको थियो ।

राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् र प्रदेश सभाका सदस्य मतदाता हुन्छन् । संघीय संसद् ९प्रतिनिधि सभा र राष्ट्रिय सभा०का ३३२ जना सदस्य र ७ वटै प्रदेश सभाका ५५० जना सदस्य गरी ८८२ जना मतदाता छन् ।

राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास चन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् । कांग्रेसका पौडेललाई सत्तारुढ माओवादी केन्द्रसहितका दलहरूको साथ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot