काठमाडौं, फागुन २६ । सभामुख देवराज घिमिरे आज बहराइन जाने भएका छन् । सभामुखमा निर्वाचित भए पछि उनको पहिलो विदेश भ्रमण हो ।
आगामी चैत २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका सङ्घको १४६ औँ बैठकमा भाग लिन सभामुख घिमिरे बहराइन जान लागेका हुन् ।
सङ्घीय संसद् सचिवालयका अनुसार नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे त्यसतर्फ जान लागेका हुन् ।
सभामुखको प्रतिनिधिमण्डलमा नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, नेकपा (एमाले)का राष्ट्रियसभा सदस्य इन्दु खकडरीया, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार तथा संसद् सचिवालयका महासचिव भरतराज गौतम र प्रतिनिधिसभाका सचिव गोपाल योगी सहभागी हुँदैछन् ।