Logo

आफूले गरेको फोहर आफैँ सफा गर्ने बानी बसालौँ : मन्त्री किराँती



काठमाडौं, २७ फागुन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफूले गरेको फोहर आफैँ सफा गर्ने बानीको विकास हुनुपर्ने बताएका छन्।

पशुपतिनाथ मन्दिर क्षेत्रमा आजदेखि सुरु गरिएको तीनमहिने बृहत् सरसफाइ अभियानको सुभारम्भ गर्दै मन्त्री किराँतीले सफा रहनु सभ्यता प्रदर्शन गर्नु भएकाले आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर परिसरलाई सबै मिलेर सफा राख्नुपर्ने बताए।

उनले भने, “नेपालमा ठूलो मानिसले सानो काम गर्नै हुँदैन भन्ने संस्कृतिको विकास भइरहेको छ, यसलाई भत्काएर अघि बढ्नुपर्छ, काम गर्दा कोही सानो हुँदैन।”

उनले पशुपतिनाथ क्षेत्र सरसफाइका लागि पशुपति क्षेत्र विकास कोषले योजना बनाएर मन्त्रालयमा बुझाउनसमेत निर्देशन दिए। पछिल्लो समय सांस्कृतिक मूल्य र मान्यता हराउँदै गएको पाइएकाले समाजसँग जोडिएको विकृतिलाई सफा बनाउनुपर्ने उनको भनाइ थियो।

आफ्नो मन्त्रालयअन्तर्गतका सबै निकायलाई सबै क्षेत्रमा सफा राख्न निर्देशिका बनाएर पठाएकाले सोअनुसारको काम नभए कारबाही गर्ने समेत मन्त्री किराँतीले चेतावनी दिएका छन्।

अबको तीन महिनासम्म हरेक शनिबार बिहान ८ देखि १० बजेसम्म मन्त्रालय र त्यसमातहतका २१ वटा निकायका कर्मचारीले दुई घण्टा पशुतिनाथ क्षेत्रमा सरसफाइ गर्ने कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्