काठमाडौं, चैत ३ । उपराष्ट्रपति चयनका लागि मतदान जारी छ। शुक्रबार बिहान १० बजेदेखि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा मतदान सुरू भएको छ। मतदान दिउँसो ३ बजेसम्म चल्नेछ।
उपराष्ट्रपतिमा नेकपा (एमाले) बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादी पार्टीबाट प्रमिलाकुमारी र रामसहायप्रसाद यादवको उम्मेदवारी परेको छ । शाक्य र रामसहाय यादव प्रमुख प्रतिस्पर्धीको रूपमा छन् ।
उपराष्ट्रपतिको निर्वाचनमा संघीय सांसद र प्रदेशसभाका सदस्य गरी ८८१ जनाले मतदान गर्न पाउनेछ । पहिलो मतदान उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले मतदान गरेका छन्।
संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको छ। मतदान सम्पन्न भएलगत्तै गणना सुरु गरिने र साँझ ६ बजेसम्म परिणाम सार्वजनिक गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
उपराष्ट्रपतिमा स्वघोषणामार्फत् प्रतिस्पर्धा स्थगित गरेकी प्रमिलाकुमारी यादवसहित चार उम्मेदवार छन्। रामचन्द्र पौडेललाई राष्ट्रपति निर्वाचित गराएका ८ दलले छुट्टाछुट्टै समूह बनाएर दुई उम्मेदवार बनाएका छन्।
जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादवलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्।
जनमत पार्टीकी ममता झालाई लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टीले साथ दिएका छन्। एमाले अष्टलक्ष्मी शाक्यलाई प्रतिस्पर्धी बनाएको छ।
फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल