Logo

मुलुक स्ववियु निर्वाचनमय



काठमाडौं, ४ चैत्र । करिब १४ वर्षपछि आइतबार त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । निर्वाचनका लागि त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसले तयारी पूरा गरिसकेका छन् । यसपटक सबै विद्यार्थी सङ्गठनको एकमात्र एजेन्डा स्ववियु निर्वाचन भएपछि निश्चित भएको हो ।

पटक पटक घोषणा भए पनि यसअघि स्ववियु निर्वाचन हुन सकेको थिएन । चैत ५ गते हुने स्ववियु निर्वाचनबाट राजनीतिक दलदेखि विद्यार्थी सङ्गठनसम्म उत्साही भएका छन् । उम्मेदवारी दर्तादेखि नै उत्साहपूर्ण रुपमा लागेका विद्यार्थी सङ्गठन आइतबार हुने निर्वाचनका लागि झनै उत्साही भएका छन् । उनीहरु अहिले आफ्नो पक्षमा माहोल बनाउन लागिपरेका छन् । देशभरिका त्रिविका ६२ आङ्गिक क्याम्पस र एक हजार ४० क्याम्पसमा एकै दिन हुने निर्वाचनले मुलुक स्ववियु निर्वाचनमय भएको छ ।

विश्वविद्यालयमा अध्ययरत विद्यार्थी र तिनले आन्दोलनमार्फत गरेका सहमति कार्यान्वयन गर्न, क्याम्पस तथा विश्वविद्यालयको नीति निर्माण र कार्यान्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन हुँदै आएको छ । स्ववियु निर्वाचन २०६५ सालदेखि यता नियमित हुन सकेको छैन । विसं २०५४ मा भएको स्थानीय तहको निर्वाचन एकै पटक गणतन्त्र आइसकेपछि २०७४ सालमा भएको थियो । अहिले स्ववियु निर्वाचन पनि करिब १४ वर्षपछि हुन लागेको हो ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारी सरकार, राजनीतिक दल र विद्यार्थी सङ्गठनको सहयोगका कारणले अहिले निर्वाचन सम्भव भएको बताउछन् । ‘प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचनमा विगतमा धेरै पटक प्रयास भएका थिए । तर विद्यार्थी सङ्गठनको कारणले सम्भव भएको थिएन । यसपटक सबैको सहयोगले हामी आइतबार निर्वाचन गर्न गइरहेका छौं,’– उनले भने ।

निर्वाचन कार्यतालिका प्रकाशन भएसँगै क्याम्पसमा भर्ना पनि बन्द गरेकाले निर्वाचन गर्न सहज भएको अधिकारी बताउँछन् । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिवसमेत रहनुभएका अधिकारीले सबै क्याम्पसले निर्वाचनको तयारी गरिसकेकोसमेत बताए ।

केही क्याम्पसमा विद्यार्थी सङ्गठनबीच सहमति हुन नसक्दा निर्वाचन प्रक्रिया अगाडि नबढेको उनको भनाइ छ । ती क्याम्पस यथाशीघ्र निर्वाचन प्रक्रिया थाल्न निर्देशन दिइसकेको समेत अधिकारीले बताए ।

अनेरास्ववियुका अध्यक्ष समिक बडाल प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन नहुँदा विद्यार्थी आकर्षण घटेको बताउँछन् । उहाँले १४ वर्षपछि हुन थालेको स्ववियु निर्वाचनका कारण विद्यार्थी उत्साहित भएको बताए ।
‘नेतृत्व उत्पादन गर्ने नर्सरीका रुपमा रहेको स्ववियु निर्वाचन नियमित हुन सकेको थिएन । अब स्ववियु निर्वाचन हुँदैछ । यसले विद्यार्थी आन्दोलनलाई थप बल पु¥याउँछ,’– उनले भने ।

अनेरास्ववियु (क्रान्तिकारी) का महासचिव दीपेश पुनले स्ववियु निर्वाचन नहुँदा विद्यार्थी आन्दोलन कमजोर भएको बताए । सबै विद्यार्थीको एक मात्र एजेन्डा यही भएकाले स्ववियु निर्वाचन सम्भव भएको उनले बताए ।
‘स्ववियुलाई सबै विद्यार्थी सङ्गठनले बचाउने प्रण गरौँ । विद्यार्थी आन्दोलन कमजोर भयो भन्ने हाम्रो निष्कर्ष निकालेर निर्वाचन गर्न थालेका हौँ,’– उनले भने ।

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आइतबार हुने स्ववियु निर्वाचनले विद्यार्थी आन्दोलनको उचाइ बढाउने बताए । उनले विगतमा त्रिवि पदाधिकारी नचाहेर स्ववियु निर्वाचन हुन नसकेको भन्दै यसपटक विद्यार्थी सङ्गठन स्ववियु निर्वाचनमा एक भएकाले सम्भव भएको बताए ।

नेपाल विद्यार्थी सङ्घका नेता दिनेश शाहीले विद्यार्थी सङ्गठन स्ववियु निर्वाचनका सन्दर्भमा एक भएकाले यो सम्भव भएको उनको भनाई छ । उनले निर्वाचनले विद्यार्थीको नेतृत्व विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

स्ववियु निर्वाचनमा अधिकांश क्याम्पसमा सत्तारूढ गठबन्धनका विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुले तालमेल गरेका छन् ।

खेलकुद निर्देशनालयका निर्देशक अधिकारीका अनुसार स्ववियु निर्वाचन २०१८÷१९ सालदेखि भएको इतिहास रहेको छ । विसं २०३० देखि प्रत्येक वर्ष हुने स्ववियु निर्वाचन २०३६ सालबाट नियमित दुई÷दुई वर्षमा हुन थालेको हो । विसं २०६५ सम्म नियमित भएको स्ववियु निर्वाचन त्यसयता मुलुकमा गणतन्त्र आइसकेपछि हुन सकेन । विसं २०७३ मा पहिलो पटक मिश्रित निर्वाचन प्रणाली र २८ वर्षे उमेर हदबन्दी लगाएर निर्वाचन भयो । तर उक्त निर्वाचन धेरै क्याम्पसमा हुन सकेन । विसं २०७३ मा उपत्यकाका नौ र उपत्यकाबाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो ।

विसं २०७३ देखि स्ववियु निर्वाचन मिश्रित प्रणालीमा हुन थालेको छ । यसपटक पनि स्ववियु निर्वाचन मिश्रित निर्वाचन प्रणालीमा हुन थालेको हो । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् ।

यस्तै स्ववियु निर्वाचनमा उम्मेदवारका लागि उमेर हदबन्दी तोकिएको छ । विसं २०५१ चैत २८ गतेपछि जन्मिएका विद्यार्थी मात्र उम्मेदवार हुन पाउने व्यवस्था गरिएको छ ।

पानीका बोतल, पेट्रोल, डिजेल, मादक पदार्थ, औषधिजन्य वस्तु, सिसाका बोतल, रङ्ग, मसी मतदानस्थलमा लैजान निषेध गरिएको छ । यस्तै, मोबाइल, क्यामेरा, झोला, लौरो, हेलमेट, चाबी, लाइटर, सलाई, नङकट, धारिलो हतियार, भाला, खुकुरी, चक्कु, छुरी जस्ता वस्तु मतदानस्थलमा लैजान प्रतिबन्ध गरिएको छ । स्ववियु निर्वाचनका लागि मतदानको समय आइतबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot