काठमाडौं, चैत ६। सरकारले अत्यावश्यक काममा बाहेक विदेश भ्रमण रोके पनि सो निर्णय कार्यान्वयनमा आशंका देखिएको छ । यसअघि पनि सरकारले पटक-पटक विदेश भ्रमणमा कडाइ गर्दै आए पनि कर्मचारीले विदेश भ्रमणमा वार्षिक ५० करोडभन्दा बढी सकाउने गरेका छन् ।
तत्कालीन केपी ओली नेतृत्वको सरकारले पनि अत्यावश्यक बाहेकको विदेश भ्रमण रोक्ने निर्णय गरेको थियो तर पछि कार्यान्वयन हुन सकेको थिएन । अहिले पनि सरकारले अत्यावश्यक बाहेकको विदेश भ्रमण रोक लगाए पनि कर्मचारीहरू विभिन्न बहाना बनाएर विदेश भ्रमण जाने क्रम जारी छ । सरकारले विदेश भ्रमणमा कडाइ गर्ने निणर्य गरेको भए पनि कार्यान्वयन फितलो देखिएको छ ।
विभिन्न मन्त्रालय र निकायमा कार्यरत कर्मचारीहरूले विदेश भ्रमण जाने क्रममा करोडौं रुपियाँ खर्च गर्ने गरेको पाइएको छ । त्यसरी मनपरि रूपमा खर्च हुने गरे तापनि त्यसको अनुगमन भने हुँदैन । विदेश भ्रमणको उपलब्धि पनि देखिँदैन । कर्मचारीहरूले घुमघाम र भत्तामा मात्रै वार्षिक ५० करोड भन्दा बढी सकिने गरेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । आजको नेपाल समाचारपत्र दैनिकबाट