भक्तपुर, १८ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले देशलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादनको प्रयोगमा सबैले जोड दिनुपर्ने बताएका छन् ।
स्थानीय उत्पादनबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाद्वारा आजदेखि यहाँ आयोजित दुईदिने भक्तपुर घरेलु उत्पादन मेलाको उद्घाटन गर्दै उनले घरेलु उत्पादन तथा सामग्री खरिद गरेर स्वदेशी उत्पादनलाई बढावा दिनुपर्ने बताए । स्थानीय उत्पादनले पर्यटन विकासमा समेत सहयोग पुग्ने तथा स्वदेशी उत्पादनलाई निर्यातमुखी बनाउन सकेमात्रै अर्थतन्त्र बलियो हुने उनको भनाइ थियो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले घरेलु उद्योग देश विकासको आधार भएको उल्लेख गर्दै मेला लगायतका गतिविधिले पर्यटन प्रवद्र्धनका लागि मद्दत गर्ने, नयाँ नयाँ रोजगारीको सृजना हुने, आत्मनिर्भर बनाउने र देशको व्यापार घाटा कम गर्नसमेत टेवा पुग्ने बताए ।
कार्यक्रममा वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोरा, वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाले विभिन्न समयमा मेला तथा महोत्सवको आयोजना गर्दै स्थानीय उत्पादनलाई प्रोत्साहन दिएको बताए ।
दुई दिनसम्म चल्ने उक्त मेलामा भक्तपुरका मौलिक उत्पादन, परम्परागत घरेलु उद्योगबाट उत्पादित वस्तु, काष्ठकला, धातुकला र प्रस्तरकला, हस्तकलाका सामग्री, नेवारी खाजा कक्ष र सांस्कृतिक प्रस्तुति रहेका छन् । भक्तपुर घरेलु तथा साना उद्योग सङ्घ र पर्यटन विकास समितिको सहआयोजनामा भएको उक्त मेलामा नगर प्रमुख प्रजापतिको नेतृत्वमा सांस्कृतिक ¥याली निकालिएको थियो । रासस